नक्कली प्रमाणपत्रबाट सरकारी जागिर र बढुवा, तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा


२०८३ असोज २३ शुक्रबार १५:१६ बजे

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश तथा विभिन्न पदमा बढुवा भएको आरोपमा स्वास्थ्य सेवाका कर्मचारी सुमनप्रसाद तिवारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध मुद्दा दायर गरेको हो। स्वास्थ्य निर्देशनालय, धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत तिवारी हाल स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा छन्। 

अनुसन्धानका क्रममा तिवारीले खोप सुपरभाइजर, राजपत्र अनंकित प्रथम श्रेणीको पदमा नियुक्ति लिन भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको आईए तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको खुलेको आयोगको आरोप छ।

उक्त प्रमाणपत्रकै आधारमा सरकारी सेवामा प्रवेश गरेका उनले माथिल्ला पद तथा श्रेणीमा बढुवा हुनसमेत पटक-पटक सोही प्रमाणपत्र पेस गरेको र त्यसबाट राष्ट्रसेवकको पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आयोगले जनाएको छ।

तिवारीले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

आयोगले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७