ओलीलाई योगेशको सुझाव : पार्टी एकता खण्डित गर्ने निर्णय नगर्नुहोस्

‘हतारमा निर्णय, फुर्सदमा पछुतो नहोस्’


२०८३ असोज २४ शनिबार १४:५९ बजे

काठमाडौं :  नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संगठनात्मक नियुक्ति र जिम्मेवारी बाँडफाँटमा हतार नगर्न सुझाव दिएका छन् । केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन कायम गर्न उनले आग्रह गरेका हुन् ।

भट्टराईले विशेषगरी ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा प्राथमिकता दिनुपर्ने र विगतमा अवसरबाट वञ्चित भूगोल तथा समुदायलाई समेटेर मनोनयन गर्नुपर्ने बताएका छन् । पार्टीभित्र आन्तरिक सन्तुलन कायम नगरी गरिने निर्णयले एकता कमजोर बनाउने उनको चेतावनी छ ।

स्थायी कमिटीको जारी बैठकमा आफू जरुरी कामका कारण उपस्थित हुन नसकेको र त्यसबारे पहिले नै जानकारी गराएको उल्लेख गर्दै भट्टराईले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन् ।

‘आसन्न निर्वाचनसहितका अन्य चुनौतीको सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त हुनेछ,’ उनले भनेका छन्, ‘पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय हतारमा निर्णय र फुर्सदमा पछुताउनु सरह हुनेछ ।’

उनले केन्द्रीय सदस्य मनोनयन गर्दा युवाको सहभागिता बढाउन, विगतमा छुटेका भूगोल र समुदायलाई समेट्न तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन मिलाउन स्पष्ट मापदण्ड बनाउनुपर्नेमा जोड दिएका छन् ।

एमालेको असोजको पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा पनि पार्टी रूपान्तरण, युवा सहभागिता र संगठनात्मक सन्तुलनका विषयमा पर्याप्त छलफल भएको भट्टराईले स्मरण गराएका छन् । तर, त्यसबेला उठाइएका विषयलाई निर्णयले समेट्न नसक्दा पार्टीभित्र अपेक्षित सकारात्मक ऊर्जा सिर्जना हुन नसकेको उनको भनाइ छ ।

भट्टराईले मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि प्रमुख राजनीतिक दलहरू रूपान्तरित हुँदै बलियो एकता निर्माण गर्नुपर्ने बताएका छन् ।

एमालेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला आयोजना गर्ने तथा वडा र पालिका तहका अधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा उनले संगठनात्मक प्रक्रियाबाट पार्टीलाई गतिशील बनाउनुपर्ने धारणा राखेका छन् ।

केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनमा सहमति र सन्तुलन कायम हुन नसके ती विषयमा तत्काल निर्णय गर्नुभन्दा केन्द्रीय कमिटीको आगामी बैठकबाट टुंग्याउनु उपयुक्त हुने उनको सुझाव छ ।

ओलीले केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटीमा सदस्य थप, पोलिटब्युरो गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च तथा विभागीय जिम्मेवारीका लागि तयार पारेको सूची बैठकमा प्रस्तुत गरेपछि एमालेभित्र असन्तुष्टि देखिएको छ । ती विषयमा निर्णय लिन स्थायी कमिटी बैठक जारी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७