यथास्थितिमा चल्दैन, नेतृत्व हस्तान्तरणसहित पुनर्गठन आवश्यकः योगेश भट्टराई


२०८३ असोज २ शुक्रबार १५:२० बजे
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीलाई यथास्थितिमा अघि बढाउन नसकिने भन्दै नेतृत्व हस्तान्तरणसहित व्यापक पुनर्गठन आवश्यक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै भट्टराईले पार्टीको नीति, संगठनात्मक ढाँचा, कार्यशैली तथा बोली–वचनमा पुनरावलोकन गर्दै नेतृत्व हस्तान्तरणमार्फत एमालेलाई पुनर्जागृत गर्नुपर्ने बताएका हुन्।

उनले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठित कार्यदलमा पार्टी नेतृत्वबाट हस्तक्षेप भएको आरोपसमेत लगाए। उनका अनुसार कार्यदलको समझदारीअनुसार महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदन सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराइए पनि अध्यक्षको असहमतिपछि त्यसमा थप छलफल अघि बढ्न सकेन।

त्यसपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई अर्को प्रतिवेदन तयार गर्न लगाइएको भट्टराईको दाबी छ। कार्यदलमा पोखरेल र थापाले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेको र ती दुवैलाई एकीकृत गर्ने जिम्मेवारी थापा, उपाध्यक्ष विष्णु पौडेल र पोखरेललाई दिइएको सार्वजनिक विवरण छ। भट्टराईले देशभरका पार्टी सदस्य, प्रदेश कमिटी, जनसंगठन तथा वरिष्ठ नेताहरूबाट संकलित सुझावमा पार्टी पुनर्गठन गर्नुपर्ने आवाज साझा रूपमा आएको बताए।

उनका अनुसार पुनर्गठनको बहसमा नीति र संगठनसँगै नेतृत्व हस्तान्तरणको विषय पनि जोडिएको छ। एमालेभित्र नेतृत्व पुनर्गठनबारे फरक धारणा सार्वजनिक भइरहेका छन्। महासचिव पोखरेलले नेतृत्व हस्तान्तरणका लागि प्रक्रिया तय गर्नुपर्ने धारणा राखेका छन् भने उपाध्यक्ष थापाको प्रतिवेदनले तत्काल नेतृत्व परिवर्तनको बहसको विरोध गरेको छ।

यसैबीच भट्टराईले वर्तमान सरकारको कार्यशैलीप्रति पनि आलोचना गरे। सरकार गठन भएको करिब छ महिना पुग्न लाग्दा सरकारको समग्र गति र कार्यदिशा सही ट्र्याकमा नरहेको उनको टिप्पणी थियो। सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा त्रास, भय र आतंक सिर्जना गरेर शासन गर्न खोजेको आरोपसमेत उनले लगाए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७