फुटको आरोपपछि बादललाई विष्णु-शंकर-पृथ्वीसुब्बाको जवाफ : पहिला तपाईं एमाले बन्नुस्
बादलको पक्षमा महेश बस्नेत र शेरधन राई मात्रै
काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गुटबन्दी गरेर पार्टी फुटाउन खोजेको आरोप अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लगाएपछि कार्यदल बैठकमा उनीविरुद्ध चर्को विरोध भएको छ। बादलको आरोपप्रति कार्यदलका सदस्यहरूले कडा आपत्ति जनाउँदै प्रतिवाद गरेका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको कार्यदल बैठकमा बादलले महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनलाई नेतृत्वविरुद्धको योजनाका रूपमा व्याख्या गर्दै त्यसलाई खारेज गर्नुपर्ने अडान राखेका थिए। उनले आफूले तयार पारेको छुट्टै प्रतिवेदन पार्टी अध्यक्ष ओलीको नेतृत्व जोगाउनका लागि ल्याइएको दाबी गरेका थिए।
बादलले बैठकको सुरुमै पोखरेल र उपाध्यक्ष विष्णु पौडेललगायत नेतामाथि गुटबन्दी गरेर पार्टी फुटाउन खोजेको आरोप लगाएका थिए। महासचिव पोखरेलले भने देशभरबाट नेता–कार्यकर्ताले दिएको सुझावका आधारमा प्रतिवेदन तयार गरिएको भन्दै त्यसलाई व्यक्तिगत रूपमा नेतृत्वविरुद्ध लक्षित दस्तावेजका रूपमा व्याख्या नगर्न आग्रह गरे।
‘पार्टीभित्र सर्वसम्मत निर्णय गरेर हामी अगाडि बढेका हौँ । कार्यदल गठनदेखि सुझाव संकलनसम्म सर्वसम्मतिका साथ अघि बढेका छौँ । यो प्रतिवेदन समग्र पार्टी निर्माणमा केन्द्रित छ । आफूअनुकूल व्याख्या नगरौँ,’ पोखरेलले बैठकमा भनेका थिए। तर बादलले पोखरेलको जवाफ स्वीकार गरेनन्। उनले प्रतिवेदनको मूल उद्देश्य नै नेतृत्वमाथि प्रहार गर्नु रहेको दाबी गर्दै आफ्नो अडान दोहोर्याएका थिए।
बादलको अडानपछि बैठकमा बोलेका उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले भने उनलाई पार्टीको इतिहास र संगठनात्मक संस्कार बुझेर अघि बढ्न सुझाव दिएका थिए। गुरुङले बादलले ल्याएको दस्तावेजलाई कार्यदलको आधिकारिक प्रतिवेदनभन्दा व्यक्तिगत अभिमतका रूपमा लिनुपर्ने तर्क गरे। ‘तपाईंले ल्याएको यो कुरा प्रतिवेदन होइन, अभिमत हो । आफ्नो मत त हामीले पनि राखिरहेका छौँ । तपाईंको लिखित हो, हाम्रो मौखिक हो,’ गुरुङले भनेका थिए।
पौडेलले भने संयोजकको भूमिका सबै पक्षलाई समेटेर साझा निष्कर्षमा पुग्ने हुनुपर्ने बताएका थिए। उनले आफूले अध्यक्षता गरेको बैठकबाट भएका निर्णयको अपनत्व लिन पनि बादललाई सुझाव दिए। ‘संयोजकको भूमिका सबैलाई समेट्ने हुनुपर्छ, सबैको अभिमतलाई मिलाएर ल्याउनुपर्छ,’ पौडेलले भनेका थिए, ‘तपाईंले ल्याएको दस्तावेजले सबैको भावना समेट्छ ? सबै पक्षको कुरा अटेको छ ?’
पौडेलले बादललाई एमालेको इतिहास र पार्टी स्कुलिङ अध्ययन गर्नसमेत सुझाव दिएका थिए। ‘तपाईं जुन स्कुलिङबाट आउनुभयो, त्यससँग एमालेको स्कुलिङ नमिल्न सक्छ । एमालेको आफ्नै इतिहास र परम्परा छ । तपाईंले एमालेको इतिहास पढ्नुहोस्,’ उनले भनेका थिए। गुरुङले पनि बादलको प्रस्तुतिमाथि असन्तुष्टि जनाउँदै पार्टी पुनर्गठनका विषयमा वस्तुगत रूपमा छलफल गर्नुपर्ने धारणा राखेका थिए।
उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू पद्मा अर्याल, यामलाल कँडेल र छविलाल विश्वकर्माले समेत पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका थिए। कार्यदलका सदस्य तथा प्रदेश इन्चार्जहरू लीलानाथ श्रेष्ठ र दामोदर भण्डारी पनि पुनर्गठनको पक्षमा उभिएपछि बादलको पक्षमा खुलेर बोल्ने राई र बस्नेत मात्रै देखिएको एक नेताले बताए।
बादलका पक्षमा सचिवहरू महेश बस्नेत र शेरधन राईबाट मात्रै उभिएका थिए । बैठकमा सचिव शेरधन राईले ओलीको नेतृत्व हटाउने गरी प्रतिवेदन तयार पारिएको भन्दै कडा आपत्ति जनाएका थिए । उनले संयोजक बादल र सदस्यसचिव पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन तयार पार्नुको औचित्यमाथि समेत प्रश्न उठाएका थिए । ‘अध्यक्षलाई हटाउन नेताहरूले मोर्चाबन्दी गर्ने, यस्तो प्रतिवेदन तयार गर्ने ? संयोजक र सदस्यसचिव बसेर प्रतिवेदन तयार नगरी अलग–अलग लेख्ने ?’ राईले बैठकमा भनेका थिए ।
राईले संयोजक र सदस्यसचिवले राजीनामा दिएर नयाँ पाँच सदस्यीय कार्यदल गठन गरी प्रतिवेदन तयार गर्नुपर्ने प्रस्तावसमेत राखेका थिए । ‘संयोजक र सदस्यसचिवले राजीनामा दिनुहोस्, पाँच जनाको अलग्गै कार्यदल बनाएर प्रतिवेदन लेखौँ, नेतृत्व नहटाउने ग्यारेन्टी गरौँ,’ उनले भनेका थिए । बैठकमा सचिव महेश बस्नेतले पनि ओलीको नेतृत्वको बचाउ गर्दै धारणा राखेका थिए । अन्य सदस्यहरू भने तुलनात्मक रूपमा संयमित देखिएका थिए ।
राईपछि अर्का सचिव खगराज अधिकारीले धारणा राखेका थिए। उनले पनि संयोजक बादलले छुट्टै प्रतिवेदन ल्याएको भन्दै कडा आपत्ति जनाए। ‘एमाले फुटाउने गतिविधि संयोजकबाट नै भएको छ,’ अधिकारीले बैठकमा भने, ‘तल–तलबाट नेता–कार्यकर्ताले दिएको सुझावलाई मान्दिनँ भन्ने तपाईं को हो ? प्रतिवेदनलाई खण्डन गर्न भन्दै जे पनि लेख्न पाइन्छ ? एमाले यसरी चल्छ ? संयोजकले नै अलग्गै प्रतिवेदन ल्याउने कहाँको चलन हो ?’
एक महिनासम्म कार्यदलको बैठक नराखेर गुटबन्दी गरेको आरोपसमेत अधिकारीले बादलमाथि लगाए। ‘प्रतिवेदन पाएपछि एक महिनासम्म बैठक नराख्ने, नेताहरूलाई अलमल्याउने, गुटबन्दी गर्ने त तपाईंबाटै भएको हो,’ अधिकारीले बादललाई भने, ‘एमाले बनाउने अभियानमा बाधक नबन्नुहोस् । जिम्मेवारी लिन सक्नुहुन्न भने के गर्ने आफैं सोच्नुहोस्, तर पार्टीका लागि जीवन दिएका नेताहरूका विरुद्ध नबोल्नुहोस् ।’
त्यसपछि कार्यदल सदस्य तथा एमाले सचिव राजन भट्टराईले पनि बादलको भूमिकामाथि प्रश्न उठाए। ‘संयोजकबाट नै पार्टी फुटाउने बीजारोपण हुनु दुःखद हो,’ भट्टराईले बैठकमा भने, ‘एमालेले अहिले लिएका नीति, कार्यक्रम र यसले संगठनमा पारेको प्रभावलाई व्यवस्थित गर्न कार्यकर्ताले दिएको सुझाव नमानेर हुन्छ र ?’ भट्टराईले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको खण्डन गर्दै बादलले तयार पारेको छुट्टै प्रतिवेदन खारेज गर्नुपर्ने मागसमेत बैठकमा राखेका थिए।
.gif)

.png)

