एमाले पुनर्गठन कार्यदल बैठकमा बादलको पक्षमा महेश बस्नेत र शेरधन राई मात्रै चर्को सुनिए

एमाले पुनर्गठन कार्यदलमा अधिकांश नेता पुनर्गठनकै पक्षमा


२०८३ भदौ २७ शनिबार ००:२६ बजे

काठमाडौं : नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठकमै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको बचाउमा सचिवद्वय महेश बस्नेत र शेरधन राई मात्रै चर्को रूपमा प्रस्तुत भएका छन् । गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको समीक्षा र पार्टी पुनर्गठनबारे एमालेको शीर्ष पुनर्गठन कार्यदलमा शुक्रबारदेखि छलफल सुरु भएको हो । 

१० जेठ २०८३ मा बसेको नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकले १५ सदस्यीय कार्यदल गठन गरेको थियो । वरिष्ठ उपाध्यक्ष बादलको संयोजकत्वमा गठित कार्यदलमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवद्वय पद्मा अर्याल र भानुभक्त ढकाल तथा आठ प्रदेशका इन्चार्जहरू छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, महेश बस्नेत, लीलानाथ श्रेष्ठ र दामोदर भण्डारी सदस्य थिए ।

कार्यदलले जेठ ३० देखि १३ वटा समूहबाट सुझाव सङ्कलन गरेको थियो । कार्यदलको औपचारिक बैठकले नै प्रतिवेदन लेख्ने जिम्मेवारी सदस्यसचिव पोखरेललाई दिएको थियो । महासचिव पोखरेलले ६५ पृष्ठको मस्यौदा प्रतिवेदन तयार पारी अध्यक्ष ओली र संयोजक बादललाई बुझाएका थिए ।

प्रतिवेदनमा उनले २०६४ को निर्वाचन पराजयपछि तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएको दृष्टान्त दिँदै अध्यक्ष ओलीले पनि नैतिक जिम्मेवारी लिएर पद त्याग्नुपर्ने र असोज २०८३ भित्र विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

यसअघि देशभरका नेता–कार्यकर्ताको सुझाव समेटेर प्रतिवेदन बनाउने जिम्मा महासचिव पोखरेललाई दिइएको थियो । कार्यदलले दिएको जिम्माअनुसार महासचिव पोखरेलले ६५ पृष्ठको प्रतिवेदन तयार पारेका थिए । महासचिव पोखरेलले देशभरका नेता तथा कार्यकर्ताको सुझावअनुसार एमाले पुनर्गठनको पक्षमा प्रतिवेदन तयार पारेपछि अध्यक्ष ओली तीव्र आक्रोशित भएका थिए । त्यसयता अध्यक्ष ओलीले महासचिव पोखरेलविरुद्ध सार्वजनिक रूपमै अभिव्यक्ति दिन थालेका थिए ।

अध्यक्ष ओलीले २५ बुँदे, २९ पृष्ठको प्रतिवेदन तयार पारेर उपाध्यक्ष बादललाई प्रतिवेदन पेस गर्न लगाएको एक पदाधिकारीले बताए । एक पदाधिकारीका अनुसार बादलले प्रस्तुत गरेको प्रतिवेदन अध्यक्ष ओलीले टिपाएको नोटलाई प्रस्तुत गरिएको हो । ती पदाधिकारीले भने, ‘अध्यक्ष आफैंले बादल कमरेडलाई लेखेर दिनुभएको नोटलाई विस्तार गर्नुभएको हो ।’

ओलीको छुट्टै प्रतिवेदन तयार पारेपछि शुक्रबार कार्यदलको बैठक बसेको हो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष ओलीको कुर्सी खाली राखेर सुरु भएको बैठकमा पहिलो दिनमै नेताहरू आ–आफ्ना अडानसहित प्रस्तुत भएका छन् ।

बादलका पक्षमा सचिवहरू महेश बस्नेत र शेरधन राईबाट मात्रै उभिएका थिए । बैठकमा सचिव शेरधन राईले ओलीको नेतृत्व हटाउने गरी प्रतिवेदन तयार पारिएको भन्दै कडा आपत्ति जनाएका थिए । उनले संयोजक बादल र सदस्यसचिव पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन तयार पार्नुको औचित्यमाथि समेत प्रश्न उठाएका थिए । ‘अध्यक्षलाई हटाउन नेताहरूले मोर्चाबन्दी गर्ने, यस्तो प्रतिवेदन तयार गर्ने ? संयोजक र सदस्यसचिव बसेर प्रतिवेदन तयार नगरी अलग–अलग लेख्ने ?’ राईले बैठकमा भनेका थिए ।

राईले संयोजक र सदस्यसचिवले राजीनामा दिएर नयाँ पाँच सदस्यीय कार्यदल गठन गरी प्रतिवेदन तयार गर्नुपर्ने प्रस्तावसमेत राखेका थिए । ‘संयोजक र सदस्यसचिवले राजीनामा दिनुहोस्, पाँच जनाको अलग्गै कार्यदल बनाएर प्रतिवेदन लेखौँ, नेतृत्व नहटाउने ग्यारेन्टी गरौँ,’ उनले भनेका थिए । बैठकमा सचिव महेश बस्नेतले पनि ओलीको नेतृत्वको बचाउ गर्दै धारणा राखेका थिए । अन्य सदस्यहरू भने तुलनात्मक रूपमा संयमित देखिएका थिए ।

राईपछि अर्का सचिव खगराज अधिकारीले धारणा राखेका थिए। उनले पनि संयोजक बादलले छुट्टै प्रतिवेदन ल्याएको भन्दै कडा आपत्ति जनाए।

‘एमाले फुटाउने गतिविधि संयोजकबाट नै भएको छ,’ अधिकारीले बैठकमा भने, ‘तल–तलबाट नेता–कार्यकर्ताले दिएको सुझावलाई मान्दिनँ भन्ने तपाईं को हो ? प्रतिवेदनलाई खण्डन गर्न भन्दै जे पनि लेख्न पाइन्छ ? एमाले यसरी चल्छ ? संयोजकले नै अलग्गै प्रतिवेदन ल्याउने कहाँको चलन हो ?’

एक महिनासम्म कार्यदलको बैठक नराखेर गुटबन्दी गरेको आरोपसमेत अधिकारीले बादलमाथि लगाए। ‘प्रतिवेदन पाएपछि एक महिनासम्म बैठक नराख्ने, नेताहरूलाई अलमल्याउने, गुटबन्दी गर्ने त तपाईंबाटै भएको हो,’ अधिकारीले बादललाई भने, ‘एमाले बनाउने अभियानमा बाधक नबन्नुहोस् । जिम्मेवारी लिन सक्नुहुन्न भने के गर्ने आफैं सोच्नुहोस्, तर पार्टीका लागि जीवन दिएका नेताहरूका विरुद्ध नबोल्नुहोस् ।’

त्यसपछि कार्यदल सदस्य तथा एमाले सचिव राजन भट्टराईले पनि बादलको भूमिकामाथि प्रश्न उठाए। ‘संयोजकबाट नै पार्टी फुटाउने बीजारोपण हुनु दुःखद हो,’ भट्टराईले बैठकमा भने, ‘एमालेले अहिले लिएका नीति, कार्यक्रम र यसले संगठनमा पारेको प्रभावलाई व्यवस्थित गर्न कार्यकर्ताले दिएको सुझाव नमानेर हुन्छ र ?’ भट्टराईले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको खण्डन गर्दै बादलले तयार पारेको छुट्टै प्रतिवेदन खारेज गर्नुपर्ने मागसमेत बैठकमा राखेका थिए।

एमाले उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू पद्मा अर्याल, यामलाल कँडेल र छविलाल विश्वकर्माले समेत पार्टी पुनर्गठन हुनुपर्ने धारणा राखेका थिए। कार्यदलका सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ र सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीसमेत पुनर्गठनको पक्षमा उभिएपछि बादलको पक्षमा राई र बस्नेत मात्रै देखिएको एक नेताले बताए।

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७