‘ग्यास छैन, घरमा बास छैन’ भन्दै विद्यार्थीको प्रदर्शन
खाली सिलिन्डर र थाल बोकेर विद्यार्थीले गरे प्रदर्शन
काठमाडौं : खाना पकाउने ग्यासको अभाव चर्किएपछि संयुक्त विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल आयल निगमको मुख्यालय घेराउ गरेका छन्। ग्यासको मूल्य बढे पनि बजारमा सहज रूपमा उपलब्ध नभएको भन्दै विद्यार्थी संगठनहरूले निगमको मुख्यालयअगाडि प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले खाली ग्यास सिलिन्डर र थाल बोकेर बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले ग्यासको अभावका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटवालले जनताको गाँस र बासजस्तो आधारभूत आवश्यकता पूरा गर्नसमेत सरकार असफल भएको आरोप लगाइन्। उनले सामाजिक सञ्जालबाट मात्रै सरकार चलाउन खोजिएको भन्दै सरकारको आलोचना गरिन्।
देशमा गम्भीर संकट देखिएको भन्दै कटवालले समस्या समाधानका लागि संयुक्त विद्यार्थी संगठनहरू जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताइन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन’ लगायतका नारा लगाएका थिए। विद्यार्थी संगठनहरूले बजारमा ग्यासको आपूर्ति सहज नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
.gif)

.png)

