सेवा अवधि बाँकी छँदै राजीनामा दिने बढे, थप दुई सहसचिवले दिए राजीनामा

६ महिनामा करिब ५ सय कर्मचारीले छाडे सेवा


२०८३ भदौ २६ शुक्रबार १८:४५ बजे

काठमाडौं : निजामती सेवाबाट कर्मचारीले राजीनामा दिने क्रम बढिरहेका बेला थप दुई सहसचिवले सेवाबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेश लोकसेवा आयोगका सचिव खिमबहादुर रायमाझी र आदिवासी जनजाति आयोगमा कार्यरत सहसचिव प्रदीपराज अधिकारीले राजीनामा दिएका हुन्। 

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको राजीनामाको चर्चा सेलाउन नपाउँदै थप दुई सहसचिवले पनि सेवाबाट अलग हुने निर्णय गरेका हुन्। लुम्बिनी प्रदेश लोकसेवा आयोगमा कार्यरत रायमाझीको अनिवार्य अवकाश हुन अझै तीन महिनाभन्दा बढी समय बाँकी थियो। उनी आगामी पुस ८ गते अनिवार्य अवकाशमा जाने भए पनि त्यसअघि नै राजीनामा दिएका हुन्। उनको राजीनामापछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शम्भु मरासिनीलाई प्रदेश लोकसेवा आयोगको सचिवमा खटाएको छ।

यसैगरी आदिवासी जनजाति आयोगमा कार्यरत सहसचिव प्रदीपराज अधिकारीले ५८ वर्षे उमेर हद पुग्न अझै १० वर्ष बाँकी छँदै स्वैच्छिक अवकाश रोजेका छन्। उनको राजीनामा महिला मन्त्रालय हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पुगेको छ।

६ महिनामा करिब ५ सय कर्मचारीले छाडे सेवा

पछिल्लो समय निजामती सेवामा कार्यरत कर्मचारीहरूले राजीनामा दिने क्रम बढ्दै गएको छ। यसैक्रममा पछिल्लो तथ्यांकअनुसार गत चैत दोस्रो सातादेखि भदौ दोस्रो सातासम्मको करिब छ महिनाको अवधिमा सहायकस्तरदेखि सचिवसम्मका झन्डै ५ सय कर्मचारीले राजीनामा दिएका छन्।

यसरी राजीनामा दिनेमा सेवा अवधि केही दिन मात्रै बाँकी रहेका कर्मचारीदेखि १५ वर्षसम्म सेवा अवधि बाँकी रहेका कर्मचारीसमेत छन्। यस अवधिमा ५ जना सचिव, ७० जना सहसचिव र ६५ जना उपसचिवले राजीनामा बुझाएका छन्। सचिवतर्फ डा. गोविन्द शर्मा र डा. कमलप्रसाद पोखरेललगायतले सेवा छाडेका छन्। सञ्चार मन्त्रालयमा हाजिर भएको दुई दिनमै राजीनामा दिएका सचिव डा. पोखरेलको सेवा अवधि अझै १३ महिना बाँकी थियो भने डा. गोविन्द शर्माको अनिवार्य अवकाश हुन २० दिन बाँकी थियो।

सहसचिवतर्फ लेखनाथ ज्ञवाली, विनोद लामिछाने, चन्द्रबहादुर शिवाकोटी, शिवादेवी दाहाल, लोकप्रसाद न्यौपाने, टेकनारायण पौडेल, गोपी कोइराला र प्रभात झालगायतले सेवा अवधि बाँकी रहँदै राजीनामा दिएका छन्। सहसचिव प्रभात झाले मात्रै १५ वर्ष सेवा बाँकी छँदै राजीनामा दिएका हुन्।

उपसचिवतर्फ भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे, मेघनाथ सापकोटा, लालप्रसाद शर्मा भुसाल, शोभाकर न्यौपाने, सुमा श्रेष्ठ र कृष्ण बेन्जुकालगायतले राजीनामा दिएका छन्। यसबाहेक शाखा अधिकृत, इन्जिनियर तथा कम्प्युटर अपरेटरलगायतका कर्मचारीले पनि सेवा छाडेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७