म पार्टीको निर्णय कार्यान्वयन गर्छु, व्यक्तिगत कुरा गर्दिनँ : शेरधन राई
विराटनगर । नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको नेतृत्वबारे पार्टीले चाँडै निर्णय गर्ने बताएका छन्।
पार्टीका प्रदेश सांसदहरूसँगको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै राईले मुख्यमन्त्री हिक्मत कार्कीलाई निरन्तरता दिने वा नयाँ नेतृत्व चयन गर्ने विषय अझै टुंगो नलागेको र यो एमालेको आन्तरिक विषय भएको बताए।
उनले नेकपासँग भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार एमालेकै नेतृत्वमा पुनर्गठन हुने स्पष्ट पार्दै एकदेखि डेढ साताभित्र निर्णयमा पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार नेतृत्व कसले गर्नेभन्दा पनि एमालेकै नेतृत्व कायम रहनु महत्त्वपूर्ण विषय हो।
मुख्यमन्त्री हिक्मत कार्कीसँग व्यक्तिगत रूपमा कुनै विवाद नरहेको उल्लेख गर्दै राईले ३२ वर्षदेखि सहकार्य र सम्बन्ध रहेको बताए। उनले आफू र कार्कीबीच द्वन्द्व रहेको भन्ने प्रचारमा कुनै सत्यता नभएको पनि स्पष्ट पारे।
राईले पार्टी अध्यक्षको निर्देशन र तीनबुँदे सहमति कार्यान्वयनका क्रममा केही संवैधानिक तथा प्राविधिक जटिलता देखिएको स्वीकार गर्दै आफू पार्टीको सचिव र प्रदेश इन्चार्जको हैसियतले पार्टीको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए।
.gif)

.png)

