सुनसरी देवानगञ्जका नागरिकलाई सरकारको अभिभावकत्वको अनुभूति हुनुपर्छ : शंकर पोखरेल


२०८३ श्रावण १३ बुधबार १०:३९ बजे

काठमाडौं :  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुनसरी घटनापछि सरकारले त्यहाँका नागरिकलाई आफू अभिभावकका रूपमा उभिएको अनुभूति दिलाउनुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे।

‘सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका खेलेको छ भन्ने प्रत्याभूति हुनुपर्छ,’ उनले भने, ‘सुरक्षा निकायको मनोबल कमजोर हुँदा यस्ता घटना हुन सक्छन्। त्यसैले सुरक्षा निकायलाई भिड व्यवस्थापन प्रभावकारी बनाउन र कुनै पनि नागरिकको ज्यान नजाने गरी संवेदनशील रूपमा काम गर्न आवश्यक छ।’

सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक राष्ट्रिय विषयमा साझा धारणा बनाउन रास्वपा सभापति लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बसेको हो।

बैठकमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओलीलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी थिए।

गत आइतबार मध्यराति सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसयता क्षेत्रको सुरक्षा अवस्था संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७