विधि र परम्परा मिचेर कांग्रेसको महाधिवेशन हुँदैन
काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्नुपर्ने बताएका छन्। शुक्रबार गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा काठमाडौंको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा बोल्दै सिंहले कांग्रेसको महाधिवेशन पार्टीको विधान, विधि र परम्पराअनुसार हुनुपर्ने धारणा राखे।
उनले आठौँ, नवौँ र दसौँ महाधिवेशनको अभ्यास स्मरण गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्नुपर्ने बताए। सिंहले आफ्नो पक्षका अन्य नेताले जुनसुकै बाटो रोजे पनि आफूहरू पार्टीभित्रको लोकतान्त्रिक मूल्य–मान्यता, विधि र परम्पराको संरक्षणमा अडिग रहने बताए।
विधान र नियम मिचेर पद तथा सुविधाका लागि ‘विशेष महाधिवेशन’ आह्वान गर्न खोजिएको भन्दै उनले त्यसलाई अलोकतान्त्रिक अभ्यासको संज्ञा दिए। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै आधिकारिक रहेको उनको दाबी थियो। पार्टीको विधान र स्थापित परम्परालाई तोडमोड गरेर महाधिवेशन गर्नेभन्दा नियमित प्रक्रियाबाटै अघि बढ्नुपर्ने सिंहको भनाइ छ।
अदालतले कानुनी विषयको निरूपण गर्न सक्ने भए पनि राजनीतिक विवादको समाधान भने पार्टीभित्रकै लोकतान्त्रिक मूल्य, विधि र पद्धतिअनुसार हुनुपर्ने उनले बताए। २०४६ सालको जनआन्दोलनमार्फत प्रजातन्त्र पुनर्स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका गणेशमान सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो।
.gif)

.png)

