विशेष महाधिवेशन रोक्न देउवाको ७ बुँदे अपिल
भन्छन्, एकता र सहमतिका साथ १५औँ महाधिवेशनमा जुटौँ
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको आन्तरिक विवाद र असमझदारी अन्त्य गरी एकता, सहमति र सहकार्यका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
मंगलबार ७ बुँदे अपिल जारी गर्दै देउवाले पछिल्लो समय कांग्रेसभित्र बढ्दै गएको विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनले पार्टीको विधि, विधान, पद्धति र परम्पराविपरीत केन्द्रीय समितिको निर्णयलाई बेवास्ता गर्दै संस्थापन पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको आरोप लगाएका छन्। विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले त्यसको अन्तिम टुंगो नलाग्दै महाधिवेशनको प्रक्रिया अघि बढाउनु राजनीतिक, नैतिक, कानुनी तथा संवैधानिक दृष्टिले उचित नभएको बताएका छन्।
देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उनको भनाइ छ। आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नरहेको पनि देउवाले स्पष्ट पारेका छन्।
देउवाले कांग्रेस नेतृत्वमा रहँदा विगत ३५ वर्षमा मुलुकले हासिल गरेको विकास, परिवर्तन र उपलब्धिको तुलनात्मक समीक्षा गर्नुपर्ने बताएका छन्। प्राप्त उपलब्धिमा मात्रै सन्तुष्ट भएर बस्न नहुने भन्दै उनले जनताको अपेक्षा पूरा गर्न, सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न र आर्थिक समृद्धि हासिल गर्न अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन्। उनले कांग्रेसभित्रको वर्तमान मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका आधारमा आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन्।
तर, कांग्रेस संस्थापन पक्षले भने असोजमै महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाइरहेको छ। भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिको प्रसंगसमेत उल्लेख गर्दै देउवाले संकटका बेला सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
हेर्नूहोस् देउवाको अपिलः

.gif)

.png)

