मिसेस नेपाल वर्ल्ड २०२६ : ग्रान्ड फिनालेका लागि २२ प्रतिस्पर्धी तय (तस्बिरहरू)
काठमाडौं : ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेका लागि २२ जना विवाहित महिला प्रतिस्पर्धी छनोट भएका छन्। विभिन्न स्थानमा आयोजित अडिसनबाट छनोट गरिएका प्रतिस्पर्धीको स्यासिङ समारोह बिहीबार साँझ काठमाडौंमा सम्पन्न भएको हो।
थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा २२ प्रतिस्पर्धीलाई ट्याग नम्बर र स्यास प्रदान गर्दै औपचारिक रूपमा प्रतियोगितामा प्रवेश गराइएको हो। समारोहमा सहभागीहरूले आफ्नो परिचयसमेत प्रस्तुत गरेका थिए। यस वर्षको प्रतियोगितामा विभिन्न पेसा र क्षेत्रका महिलाको सहभागिता रहेको आयोजक रिवन इन्टरटेनमेन्टले जनाएको छ। आयोजकका अनुसार गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापकसम्मका महिला अन्तिम चरणका लागि छनोट भएका छन्।
छनोट हुनेमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन छन्।
रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार प्रतियोगितामा विभिन्न पेसा र पृष्ठभूमिका महिलाको सहभागिताले उनीहरूको प्रतिभा र क्षमता प्रस्तुत गर्ने अवसर सिर्जना गरेको छ। आयोजक शिला बास्तोलाले व्यावसायिक तथा पारिवारिक जिम्मेवारी सम्हालिरहेका महिलालाई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्व प्रदर्शन गर्ने मञ्चका रूपमा प्रतियोगितालाई अघि बढाइएको बताइन्।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुने आयोजकले जनाएको छ। विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। त्यस्तै, यही मञ्चबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’ का विजेतासमेत चयन गरिनेछ। यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजकको भनाइ छ।
अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा सन्दीप भुजेलले नृत्य प्रशिक्षण दिनेछन्। करिब ४५ दिनको प्रशिक्षणपछि फिनाले आयोजना गरिनेछ। निशा बराइलीले सह–कोरियोग्राफी तथा गंगा महर्जन र विन्दिया श्रेष्ठले कार्यक्रम संयोजन गर्नेछन्। स्यासिङ समारोह सम्पन्न भएसँगै २२ प्रतिस्पर्धीले ग्रान्ड फिनालेको तयारीका लागि प्रशिक्षण, व्यक्तित्व विकास तथा विभिन्न प्रतिस्पर्धात्मक गतिविधिमा सहभागिता जनाउनेछन्।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.gif)

.png)

