राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्याउँदै नयाँ ५० रुपैयाँको नोट
काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार र रङमा नयाँ नोट जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटमा संकेत नं. ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्मका नोट जारी हुनेछन्। नोटमा ‘२०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याउने’ उल्लेख गरिएको छ। नयाँ ५० रुपैयाँको नोटको अगाडिको मध्य भागमा नेपाल राष्ट्र बैंकको प्रतिज्ञामूलक वाक्यांश राखिएको छ। बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको तल ‘५०’ अंकित गरिएको छ। नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
नयाँ नोटमा १.२ मिलिमिटर चौडा सुरक्षा धागोसमेत राखिएको छ। नोटलाई प्रकाशतर्फ पारेर हेर्दा उक्त धागो पूर्ण रूपमा देखिने र त्यसमा ‘NRB’ लेखिएको राष्ट्र बैंकले जनाएको छ। नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ। त्यसको माथि ‘NEPAL RASTRA BANK’ तथा तल्लो भागमा ‘RUPEES FIFTY’ लेखिएको छ। पछाडितर्फ सिरिज नम्बर ‘2025 A.D.’ समेत उल्लेख गरिएको छ।
राष्ट्र बैंकले यसअघि २०७७ साल असार २२ गतेदेखि २०१९ सिरिजको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको थियो। उक्त नोटमा रहेका संकेत नम्बरमध्ये ज ८९, ०००००१ देखि ट २३, ९००००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
.gif)

.png)

