देउवानिकट चार जिल्ला सभापतिको जिम्मेवारी खोसियो
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया अघि बढाउन असहमति जनाएका चार जिल्ला सभापतिको कार्यकारी जिम्मेवारी खोसिएको छ। उनीहरूको ठाउँमा पार्टीले नयाँ कार्यवाहक सभापति तोकेको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिलाई अधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारीबाट हटाइएको हो। यद्यपि उनीहरूको जिल्ला सभापतिको औपचारिक पद भने कायमै रहने जनाइएको छ। निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी हरिचन्द्र रानालाई दिइएको छ। मुगुमा ऐनबहादुर शाहीको ठाउँमा हरिजङ्ग शाहीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ।
त्यस्तै, डोटीमा नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायर र बागलुङमा जितबहादुर शेरचनको जिम्मेवारी तारानाथ पौडेललाई दिइएको छ। कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यतालिकाअनुसार असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकल निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन हुँदै असोज ७ गते जिल्ला अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ।
महाधिवेशन प्रक्रिया अघि बढाउने विषयलाई लिएर कांग्रेसभित्र भने विवाद देखिएको छ। जिम्मेवारी खोसिएका केही जिल्ला सभापतिले अदालतमा पार्टीको वैधानिकता, नेतृत्व तथा विशेष महाधिवेशनसम्बन्धी विषय विचाराधीन रहेको भन्दै फैसला नआएसम्म अधिवेशन प्रक्रिया रोक्न आग्रह गरेका छन्।
.gif)

.png)

