रवि–बालेनको अयोग्यता पुराना नेतृत्वले आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई


२०८३ श्रावण २९ शुक्रबार ११:०७ बजे

काठमाडौं :  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रवि लामिछाने र बालेन शाहको कमजोर बन्दै गएको अवस्थालाई पुराना दलका नेताहरूले आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार बनाउन नहुने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले नयाँ राजनीतिक शक्तिको कमजोरी देखाएर पुराना दलका नेताहरू आत्मरतिमा रमाउनु ‘महाभूल’ हुने चेतावनी दिएका हुन्।

भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपाका तत्कालीन नेतृत्वको अकर्मण्यता तथा प्रमुख नेताहरूको अयोग्यतालाई आधार बनाएर रास्वपाको उदय भएको र रवि लामिछाने तथा बालेन शाह नयाँ राजनीतिक अनुहारका रूपमा स्थापित भएको टिप्पणी गरेका छन्।

उनका अनुसार सुरुआती चरणमा रास्वपा, रवि र बालेनले उल्लेख्य सफलता हासिल गरे पनि पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति तथा वर्गीय र सामाजिक आधार निर्माणमा पर्याप्त ध्यान नदिँदा उनीहरूको राजनीतिक यात्रा कमजोर बन्दै गएको हो।

‘अरूको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन्,’ भट्टराईले भनेका छन्, ‘बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोधले नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो, न आजकालाई काम लाग्नेछ।’

उनले आफ्नै पार्टी एमालेसहित कांग्रेस र नेकपाका शीर्ष नेताहरूले रास्वपाको ओरालो यात्रा तथा रवि र बालेनको अयोग्यतालाई देखाएर पुरानै गल्ती दोहोर्‍याइरहेको टिप्पणी गरेका छन्।

भट्टराईले विगतका कमजोरीको समीक्षा नगर्ने, कमजोर हुँदै गएको वर्ग तथा सामाजिक आधारको पुनर्निर्माणमा ध्यान नदिने र पार्टीभित्र नीति, विचार तथा संगठन पुनर्गठनबारे छलफल गर्न अनिच्छुक हुने प्रवृत्तिले पुराना दललाई थप कमजोर बनाउने चेतावनी दिएका छन्।

‘नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्न लगाउने, नीति, विचार र संगठनको पुनर्गठनका बारेमा छलफल गर्न तयार नहुने, यावत् समस्या र कमजोरीलाई कार्पेटमुनि छोपछाप गरेर उही जयजयकारको भिडभाडलाई लोकप्रियताको आधार र शक्तिको स्रोत ठान्ने हो भने त्यो महाभूल हुनेछ,’ उनले लेखेका छन्।

भट्टराईले नयाँ राजनीतिक शक्तिको कमजोरीबाट पुराना दलहरूले आत्मसन्तुष्टि लिनुभन्दा आफ्ना कमजोरीको समीक्षा गर्दै संगठन, नीति र सामाजिक आधार पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने संकेत गरेका छन्।

भट्टराईको स्टाटस :

पुराना पार्टी (एमाले, कांग्रेस र माओवादी) को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइयो। रवि, बालेनलाई नेता बनाइयो। तत्काल ठूलै सफलता पनि मिल्यो। तर रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्न तीर ध्यान नदिंदा शिखरबाट ओरालो यात्रा शुरू भएको छ ।

अरूको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन्। बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोध नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो न आजकालाई काम लाग्ने छ ।

अर्कोतिर पुराना दलका प्रमुख नेताहरू फेरी त्यही गल्ती दोहोर्‍याउँदैछन्। रास्वपाको ओरालो यात्रा र रवि-बालेनको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा मस्त छन्। विगतका कमजोरीको समीक्षा नगर्ने, भत्किँदै गएको वर्ग र सामाजिक आधारको पुनर्निर्माणतिर ध्यान नदिने, नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्न लगाउने, नीति, विचार र संगठनको पुनर्गठनका बारेमा छलफल गर्न तयार नहुने, यावत समस्या र कमजोरीलाई कार्पेटमुनि छोपछाप गरेर उही जयजयकारको भिडभाडलाई लोकप्रियताको आधार र शक्तिको स्रोत ठान्ने हो भने त्यो महाभूल हुनेछ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७