विद्यालयको बिल भुक्तानीमा १ लाख ३५ हजार घुस : एक इन्जिनियर, लेखाअधिकृत र सब–इन्जिनियरनविरुद्ध मुद्दा
काठमाडौं : भोजपुरमा विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानीका लागि घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
अनुसन्धानका क्रममा उनीहरूले भोजपुरस्थित विद्यालयको नयाँ भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाउन विभिन्न प्राविधिक समस्या देखाउँदै सेवाग्राहीलाई दुःख हैरानी दिएको र १ लाख ३५ हजार रुपैयाँ घुस मागेको खुलेको अख्तियारले जनाएको छ। आयोगका अनुसार माग गरिएको रकममध्ये ५० हजार रुपैयाँ सब–इन्जिनियर श्रेष्ठको बैंक खाताको क्यूआरमार्फत जम्मा गर्न लगाइएको थियो भने बाँकी ८५ हजार रुपैयाँ इन्जिनियर राईले नगद बुझेका थिए।
यसअघि सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले राईलाई ललितपुरबाट तथा कार्की र श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको थियो। अनुसन्धानबाट तीनै जनाले घुस रकम आपसमा बाँडेर लिने सहमति गरेको खुलेको अख्तियारको दाबी छ। आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवानाको सजाय मागदाबी गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आरोपपत्र सोमबार विशेष अदालतमा दायर गरिएको हो।
.gif)

.png)

