योगेशको अभिव्यक्तिप्रति ओलीको आक्रोश : अध्यक्ष हटाउनुपर्छ भन्ने को न्यायाधीश ?


२०८३ असोज ५ सोमबार १३:३८ बजे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै पार्टीभित्रको बहस मिडियामार्फत सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाएका छन्। भट्टराईले केही दिनअघि नेतृत्व हस्तान्तरणका लागि अध्यक्ष ओलीले स्वविवेकले राजीनामा दिनुपर्ने धारणा राखेका थिए। उनले केन्द्रीय कमिटीबाट नेतृत्व हस्तान्तरणको सहज विधि र प्रक्रिया बनाएर विधान संशोधन, राष्ट्रिय भेला वा विशेष महाधिवेशनमार्फत निकास खोज्नुपर्ने बताएका थिए।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले भट्टराईको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्रका विषय कमिटीमै छलफल गर्नुपर्ने बताए। ‘हामीमाथि भएको हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नुपर्थ्यो। तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू समस्या सिर्जना गर्न उद्यत भए,’ ओलीले भने, ‘पार्टीभित्रको बहस पार्टीभित्र, कमिटीभित्र छलफल हुन सक्थ्यो। तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, यस्ता कुरा बोल्ने को न्यायाधीश ?’

ओलीले पार्टीका नेताहरूले बाहिर गएर पार्टी नेतृत्व र आन्तरिक विषयमा अभिव्यक्ति दिने छुट नभएको बताए। ‘तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुस्, कमिटीमा छलफल गर्नुस्, राय राख्नुस्,’ उनले भने, ‘तर बाहिर गएर जगँहसाइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने गतिविधि हुनु हुँदैन।’

उनले पार्टीभित्रको ‘अराजकता’ नियन्त्रण गर्दै एमालेलाई अनुशासित र एकताबद्ध बनाउनुपर्ने अवस्था आएको बताए। ‘विरोधीलाई खेल्ने ठाउँ दिनु हुँदैन। अनुशासनमा कमजोर भएको पार्टी एमाले बन्दा मलाई दुःख लागेको छ,’ ओलीले भने। महाधिवेशनबाट भएको निर्णयलाई अस्वीकार गर्दै पछिल्लो राजनीतिक घटनाक्रमलाई आधार बनाएर पार्टीभित्र अराजकता सिर्जना गर्नु उपयुक्त नभएको उनको भनाइ थियो।

ओलीले एमालेलाई अनुशासित, गतिशील र चुनौतीको सामना गर्न सक्ने पार्टीका रूपमा अघि बढाउने बताएका छन्। एमालेभित्र पछिल्लो समय निर्वाचन समीक्षा, पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयमा बहस चलिरहेको छ। पुनर्गठन कार्यदलको प्रतिवेदनलाई लिएर समेत अध्यक्ष ओली र केही शीर्ष नेताबीच मतभेद देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७