बाहिर गएर ‘जगहँसाइ’ नगर्न ओलीको चेतावनी

पार्टीभित्रको बहस मिडियामा होइन, समितिमै गर्न ओलीको निर्देशन


२०८३ असोज ५ सोमबार १३:२४ बजे

काठमाडौं :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाहिरबाट पार्टीमाथि हमला भइरहेका बेला पार्टीभित्रै केही व्यक्तिले समस्या सिर्जना गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिकूल परिस्थितिको सामना गर्न पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताए। पार्टीभित्रको असन्तुष्टिले विपक्षीलाई खेल्ने ठाउँ दिन नहुने उनको भनाइ थियो।

‘यतिबेला हामी एकजुट भएर, एकढिक्का भएर यस प्रतिकूलताको सामना गर्न, हामीमाथिको फाँसीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अघि बढ्नुपर्थ्यो,’ ओलीले भने, ‘तर पार्टीभित्रै केही व्यक्ति र तत्वहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्धत भए। समस्याको सिर्जना गरे।’

उनले पार्टीभित्रका मतभेद र बहस पार्टीका सम्बन्धित समितिमै छलफल गर्नुपर्ने बताए। मिडियामार्फत नेतृत्व परिवर्तनको माग गर्ने गतिविधिप्रति उनले आपत्ति जनाए।

‘तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुराहरू बोल्ने ? तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीमा छलफल गर्नुस् न,’ ओलीले भने, ‘बाहिर गएर जगहँसाइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने यस प्रकारका क्रियाकलाप हुन हुँदैन।’

ओलीले पार्टीभित्र देखिएको ‘अराजकता’ नियन्त्रण गर्दै अनुशासित ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। ‘यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित बनाएर अघि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको छ,’ उनले भने।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७