२ करोड ३ लाखको सम्पत्तिको स्रोत नखुलेपछि डा.अर्जुन सापकोटाविरुद्ध अख्तियारको मुद्दा


२०८३ असोज २ शुक्रबार १६:५३ बजे
फाइल फोटो

काठमाडौं : स्वास्थ्य सेवा विभागका तत्कालीन दशौं तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा.अर्जुन प्रसाद सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।  

अख्तियारले सापकोटाको सेवामा प्रवेश गरेको मिति २०५३ साल असार २५ गतेदेखि २०८० साल वैशाख ३० गतेसम्मको अवधिलाई जाँच अवधि मानेर अनुसन्धान गरेको जनाएको छ। अनुसन्धानमा सापकोटा तथा उनको एकासगोल परिवारले विभिन्न स्रोतबाट ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा वैधानिक आय आर्जन गरेको देखिएको अख्तियारको दाबी छ।  

तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण तथा घरजग्गा खरिद, शेयर तथा सवारीसाधन खरिद, कर्जा भुक्तानी, बीमा, अध्ययन, सुन तथा विद्युतीय उपकरण खरिद, विदेश भ्रमण, घर बहाललगायत विभिन्न शीर्षकमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।  

वैधानिक आयभन्दा खर्च तथा लगानी २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बढी देखिएपछि उक्त रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारको भनाइ छ।  आयोगका अनुसार सापकोटाले सार्वजनिक सेवामा रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको र त्यसबाट अस्वाभाविक उच्च जीवनस्तर बिताएको अनुसन्धानबाट खुलेको छ। उनले सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको स्रोतसमेत नखुलाएको अख्तियारको आरोप छ। 

अख्तियारले सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बिगो कायम गरी कानुनबमोजिम कैद र बिगो बराबर जरिवानाको माग गरेको छ। साथै, गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न तथा वास्तविक सम्पत्ति लुकाई–छिपाई झुट्टा विवरण पेस गरेको कसुरमा समेत कैद र जरिवाना गर्न मागदाबी गरिएको छ।  

सापकोटाकी श्रीमती निरजा पण्डितलाई भने सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ। सापकोटाले स्रोत नखुलेको रकमबाट श्रीमतीको नाममा खरिद गरेका सम्पत्ति रहेको देखिएकाले ती सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पण्डितलाई प्रतिवादी बनाइएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७