परराष्ट्र मामिलाका विज्ञ पाण्डे भारतका लागि राजदूत सिफारिस: यस्तो छ उनको कूटनीतिक पृष्ठभूमि


२०८३ असोज २ शुक्रबार १७:०५ बजे
फाइल फोटो

काठमाडौं : सरकारले भारतका लागि नेपाली राजदूतमा परराष्ट्र मामिलाका विज्ञ डा. निश्चलनाथ पाण्डेको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेसहित १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको हो।

प्रधानन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार आएदेखि विगतको सरकारले गरेको नियुक्ति बदर गर्दै राजदूत फिर्ता बोलाएको थियो। त्यसयता परराष्ट्र मन्त्रालयका कर्मचारीलाई सरकारले कार्यबाहक राजदूतको जिम्मेवारी दिएको थियो। खासगरी यो सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा कसलाई राजदूतका रूपमा सिफारिस गर्छ भनेर चासोका साथ हेरिएको थियो। 

को हुन् निश्चलराज पाण्डे ?

भारतका लागि प्रस्तावित पाण्डे लामो समयदेखि नेपालको परराष्ट्र नीति, दक्षिण एसिया र क्षेत्रीय मामिलामा अध्ययन–अनुसन्धान गर्दै आएका प्राज्ञ तथा परराष्ट्र मामिलाका जानकारका रूपमा परिचित छन्। उनी सेन्टर फर साउथ एसियन स्टडिज (सीएसएएस) का निर्देशक हुन्।

पाण्डेले नेपाल सरकारअन्तर्गतको इन्स्टिच्युट अफ फरेन अफेयर्स (आईएफए) को कार्यकारी निर्देशकका रूपमा सन् १९९८ देखि २००६ सम्म काम गरेका थिए। त्यसअघि उनी राष्ट्रिय योजना आयोगमा पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी सल्लाहकारका रूपमा समेत कार्यरत थिए।

उनी राजनीतिशास्त्र र कानुनका विद्यार्थी हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि (पीएचडी) तथा एलएलबी गरेका छन्। उनी भारतको बेंगलुरुस्थित नेसनल इन्स्टिच्युट अफ एड्भान्स्ड स्टडिजका मानार्थ एड्जन्क्ट प्रोफेसर तथा नेसनल युनिभर्सिटी अफ सिंगापुरको इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजमा गैरआवासीय वरिष्ठ फेलोका रूपमा पनि आबद्ध छन्।

पाण्डेले जर्मनीको SWP Berlin र बेलायतको University of Hull लगायत संस्थामा भिजिटिङ फेलोसिपसमेत गरेका छन्। उनी दक्षिण एसियाली मामिलासम्बन्धी विभिन्न क्षेत्रीय अनुसन्धान तथा नीति संस्थासँग पनि जोडिएका छन्।

नेपाल–भारत सम्बन्धका अध्येताः

पाण्डेको अध्ययनको मुख्य क्षेत्रमध्ये नेपाल–भारत सम्बन्ध र दक्षिण एसियाली भू–राजनीति पनि पर्दछ। उनले नेपालको विदेश नीति र क्षेत्रीय कूटनीतिबारे विभिन्न अनुसन्धानात्मक लेख प्रकाशित गरेका छन्। सन् २०२१ मा प्रकाशित उनको एक शोधले नेपालको विदेश नीति निर्माणमा बदलिँदो भू–राजनीतिक तथा भू–आर्थिक परिवेशअनुसार संस्थागत सुधार र नीतिगत समन्वयको आवश्यकताबारे चर्चा गरेको छ।

यसअघि पनि पाण्डेले नेपाल–भारत सम्बन्ध, दक्षिण एसियाली शक्ति सन्तुलन तथा क्षेत्रीय सहकार्यका विषयमा सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्। उनी दक्षिण एसियासम्बन्धी बहसमा नियमित रूपमा उद्धृत हुने नेपाली विज्ञमध्ये एक हुन्।

भारतका लागि राजदूतको नाम सिफारिस भएसँगै पाण्डेको आगामी जिम्मेवारी औपचारिक नियुक्ति प्रक्रिया पूरा भएपछि सुरु हुनेछ। सिफारिस गरिएका राजदूतको नाम संसदीय सुनुवाइ प्रक्रियामा जाने र त्यसपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि नियुक्ति प्रक्रिया पूरा हुने व्यवस्था छ।

भारत नेपालको महत्त्वपूर्ण छिमेकी तथा प्रमुख आर्थिक र राजनीतिक साझेदार भएकाले दिल्लीस्थित नेपाली नियोगको भूमिका दुई देशबीचका राजनीतिक, आर्थिक, सीमा, ऊर्जा, व्यापार तथा जनस्तरका सम्बन्धसँग प्रत्यक्ष जोडिन्छ। यही पृष्ठभूमिमा लामो समयदेखि नेपाल र दक्षिण एसियाली मामिलामा काम गर्दै आएका पाण्डेलाई सरकारले भारतका लागि प्रस्तावित गरेको हो।

यद्यपि, मन्त्रिपरिषद्को सिफारिसपछि संसदीय सुनुवाइ र सम्बन्धित मुलुकको सहमति (एग्रिमो) लगायतका प्रक्रिया पूरा भएपछि मात्रै उनको राजदूत नियुक्ति औपचारिक रूपमा टुंगिनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७