गण्डकीका पूर्वस्वास्थ्यमन्त्री पाण्डेमाथि ३० लाख घुस मागेको आरोप
एमालेले बनायो छानबिन समिति
पोखरा : गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेमाथि अस्पतालको नवीकरण प्रक्रिया अघि बढाउन ३० लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ। पोखरा–३, नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिको अस्पताल स्तरोन्नतिको नवीकरणसँग सम्बन्धित आर्थिक लेनदेनको श्रव्यदृश्य सार्वजनिक भएपछि पूर्वमन्त्री पाण्डेसहित तत्कालीन मन्त्रालयका सचिव युवानिधि बसौला र मन्त्रीका स्वकीय सचिव यादव पौडेलसमेत विवादमा तानिएका छन्।
सार्वजनिक भएको श्रव्यदृश्यमा अस्पतालको नवीकरणका लागि रकम मागिएको संवाद सुनिन्छ। उक्त संवादमा पूर्वमन्त्री पाण्डेले अस्पतालका अध्यक्ष यादव गौतमलाई स्वकीय सचिव पौडेलसँग बाँकी कुरा गर्न भनेको देखिन्छ। त्यसपछि पौडेल र गौतमबीच रकमबारे कुराकानी भएको श्रव्यदृश्यमा उल्लेख छ। अस्पताललाई यसअघि ५० शय्याबाट स्तरोन्नति गरी १०० शय्याको बनाउने अनुमति दिइएको थियो। तर नवीकरणका लागि आवश्यक कागजात नपुगेको भन्दै करिब ६–७ महिनादेखि फाइल रोकिएको अस्पताल पक्षको दाबी छ।
अस्पतालका अध्यक्ष गौतमका अनुसार पटक–पटक नवीकरणका लागि आग्रह गर्दा मन्त्रालयका अधिकारीबाट रकम माग गरिएको थियो। सार्वजनिक श्रव्यदृश्यमा सुरुमा ३० लाख रुपैयाँको कुरा भएको र पछि २५ लाखमा रकमको ‘डिल’ भएको संवादसमेत सुनिन्छ। अस्पताल पक्षले भने नवीकरणका लागि आवश्यक मापदण्ड पूरा गरिसक्दा पनि फाइल रोकिएपछि आर्थिक लेनदेनको दबाब आएको दाबी गरेको छ।
घटनामा जोडिएका पूर्वमन्त्री पाण्डे र स्वकीय सचिव पौडेलले आर्थिक लेनदेनको विषयमा कुराकानी भएको स्वीकार गरे पनि आफूहरूले घुस नलिएको दाबी गरेका छन्। स्वकीय सचिव पौडेलका अनुसार मन्त्रालयका सचिव बसौलाले रकमको विषयमा डिल गरेको जानकारी पाएपछि मन्त्री पाण्डेकै निर्देशनमा आफूले अस्पताल सञ्चालकसँग कुराकानी गरेको हो। उनले रकम आफूले नलिएको दाबी गरेका छन्।
पूर्वमन्त्री पाण्डेले पनि आफूले नवीकरणको प्रक्रिया अघि बढाउनका लागि मात्र डिल गर्न भनेको र पैसा नलिन निर्देशन दिएको दाबी गरेका छन्। तर अस्पतालको खाताबाट पौडेलको नाममा २५ लाख रुपैयाँको चेक काटिएको विवरणसमेत सार्वजनिक श्रव्यदृश्यमा देखाइएको छ। पाण्डे र पौडेल दुवैले आर्थिक लेनदेनको विषयमा मुख्य भूमिका मन्त्रालयका तत्कालीन सचिव युवानिधि बसौलाको रहेको आरोप लगाएका छन्।
सचिव बसौलाले भने आफूले कसैसँग घुस नमागेको दाबी गरेका छन्। उनले सार्वजनिक श्रव्यदृश्यमा आफूले कानुनसम्मत रूपमा काम गरेको बताउँदै आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। विवाद सार्वजनिक भएपछि सचिव बसौला कार्यालयमा उपस्थित नभई बिरामी बिदामा बसेका छन्। उनले आफू घरमै आराम गरिरहेको बताएका छन्।
घटनाबारे छानबिन गर्न नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। संसदीय दलकी प्रमुख सचेतक देवका पहारीको संयोजकत्वमा प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ र एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी सदस्य रहेको समिति गठन गरिएको हो। समितिलाई १५ दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ। छानबिन समितिको प्रतिवेदनपछि सार्वजनिक श्रव्यदृश्यमा आएका दाबी, आर्थिक लेनदेनको विषय तथा अस्पतालको नवीकरण प्रक्रियामा संलग्न अधिकारीहरूको भूमिकाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
.gif)

.png)

