सुदन किराती समूहलाई बैठकमै बोलाइएन, श्रम संस्कृति पार्टीमा विवाद
काठमाडौं : श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता सुदन किराती नेतृत्वको समूहलाई नबोलाइएको भन्दै गुनासो भएको छ। धरानस्थित होटल गोर्खामा आज र भोलि बस्ने बैठकमा करिब चार महिनाअघि पार्टीमा समाहित भएको किराती समूहलाई निम्तो नआएको उनका सहयोगी नवीन मास्केले बताए।
बैठकमा नबोलाइएपछि किराती आफ्ना समूहका नेताहरूसँग आन्तरिक छलफलमा रहेको उनले जानकारी दिए। ‘पार्टी बैठकमा त बोलाइएको छैन। एकतापछि आएको समूहलाई खबर नै भएन,’ मास्केले भने। यता श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य शान्ति पाख्रिन गुरुङले भने आजको बैठकले किराती समूहसँगको एकतालाई औपचारिक अनुमोदन गरेपछि भोलिको बैठकमा उनीहरूलाई बोलाइने बताइन्।
उनका अनुसार किराती समूहलाई पार्टीमा ल्याउन यसअघि वार्ता समिति गठन गरिएको थियो। वार्ता सफल भएपछि किराती समूह पार्टीमा समाहित भएको र आजको बैठकबाट त्यसलाई औपचारिकता दिइने उनले बताइन्। किरातीको सचिवालयले भने भोलिको बैठकमा समेत बोलाइएकोबारे आफूहरूलाई जानकारी नभएको जनाएको छ।
किराती नेतृत्वको समूह पार्टीमा समाहित भएपछि श्रम संस्कृति पार्टीको २३ सदस्यीय केन्द्रीय समिति विस्तार गरी ४१ सदस्यीय बनाइएको थियो। एकताका क्रममा किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो भने उनको पक्षबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जनालाई जिम्मेवारी दिइएको थियो। तर, पार्टीको केन्द्रीय कमिटी बैठकमा भने किराती समूहका कसैलाई पनि निम्तो नदिइएको बताइएको छ।
.gif)

.png)

