दाइजो र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु : उपसभामुख ठाकुर
बरहथवा (सर्लाही) : प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारी ठाकुरले मधेस प्रदेशमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध आफू निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेकी छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकाद्वारा आयोजित 'बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रम' लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसको मात्र नभएर सिङ्गो देशकै कलंक रहेकाले यसलाई पूर्ण रूपमा उन्मूलन गर्नुपर्नेमा जोड दिइन्। छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदकारी सोचका कारण समाजमा बालविवाह मौलाएको चर्चा गर्दै उनले मधेसले अब छोरीलाई सम्मान गर्न सिक्नुपर्ने उल्लेख गरिन्। 'छोरी जन्मने घरमा बोझ भित्रिएको भन्दै दुःख मान्नुहुन्न, माता सीताको जन्मभूमिमा छोरी जन्मनु त सौभाग्यको कुरा हो,' उपसभामुख ठाकुरले भनिन्, 'बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन ल्याइरहेको छ।'
पछिल्लो समय किशोर-किशोरीहरू घर छोडेर हिँड्ने प्रवृत्तितर्फ सङ्केत गर्दै उनले अभिभावकको सरसल्लाहलाई गलत नबुझ्न र आवेगमा आएर विद्रोह नगर्न समेत सुझाव दिइन्।
कार्यक्रममा सर्लाही–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) नीतिमा कार्की भण्डारीले मधेसमा लामो समयदेखि दाइजो र बालविवाहको रूप बदलिए पनि प्रथा कायमै रहेको प्रति चिन्ता व्यक्त गरिन्। समाजमा व्याप्त यस्ता कुरीति र कुसंस्कारलाई शिक्षाको उज्यालो ज्योतिले मात्र हटाउन सक्ने भन्दै उनले छोरीहरूलाई उच्च शिक्षा दिन अभिभावकहरूसँग आग्रह गरिन्।
मधेस प्रदेशका विभिन्न पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उदाहरणीय व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। छोरीलाई १२ कक्षासम्म पढाएर २० वर्ष पार गरेपछि मात्र विवाह गराउने अभिभावक, बुहारीलाई स्नातक तह (बैचलर) पढाउने सासूबुबा र बिनादाइजो विवाह गर्ने आदर्श जोडीहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।
बालविवाह न्यूनीकरणका लागि चन्द्रनगर गाउँपालिकाले सराहनीय कदम चाल्दै आएको छ। गाउँपालिकाले २० वर्ष पार गरी विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै पुगेर नगद ५० हजार रुपैयाँसहित सम्मान गर्ने गरेको छ भने कक्षा १२ सम्म पढ्ने छोरीहरूलाई प्रोत्साहन स्वरूप एकमुष्ट ११ हजार रुपैयाँ नगद प्रदान गर्दै आएको छ।
.gif)

.png)

