भोटेकोशी बाढीपीडितका लागि फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग
काठमाडौं : रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० लाख ६६५ रुपैयाँ सहयोग गरेको छ। संस्थाले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै संस्थाले राहतका लागि सहयोग गरेको जनाएको छ। संस्थाका कम्पनी सचिव विनोदकुमार चौधरीका अनुसार कुल सहयोगमध्ये १६ लाख रुपैयाँ संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषबाट र १४ लाख ६६५ रुपैयाँ कर्मचारीबाट संकलन गरिएको हो।
संस्थाले प्रधानमन्त्री राहत कोषमा नगद सहयोग गर्नुका साथै बाढी प्रभावितलाई आवश्यक दैनिक उपभोग्य सामग्रीसमेत प्रत्यक्ष वितरण गर्ने जनाएको छ। संस्थाकी अध्यक्ष भगबती चौधरीले विपत्तिको समयमा सरकारको राहत अभियानमा संस्थाले आफ्नो तर्फबाट योगदान गरेको बताइन्। उनले सहयोगलाई राष्ट्र निर्माण र मानवीय सेवाका रूपमा लिएको उल्लेख गरिन्।
फरवार्ड माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो। संस्थाले ४० जिल्लामा १५९ शाखामार्फत सेवा दिँदै आएको जनाएको छ। संस्थामा २ लाख ८४ हजार ग्राहक सदस्य आबद्ध रहेको बताइएको छ।
.gif)

.png)

