हेलिकोप्टर उद्धारमा केन्द्रित हुँदा केही क्षेत्रमा राहत पुर्‍याउन कठिनः प्राधिकरण


२०८३ भदौ २२ सोमबार १४:५९ बजे

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले सोमबार आयोजित कार्यक्रममा हेलिकोप्टरबाट मात्र पुग्नुपर्ने क्षेत्रबाहेक अन्य प्रभावित स्थानमा राहत पुर्‍याइएको दाबी गरे।

उनका अनुसार अहिले उपलब्ध हेलिकोप्टरलाई मुख्यतः खोज तथा उद्धारमा परिचालन गरिएकाले हवाई माध्यमबाट मात्रै राहत पुर्‍याउनुपर्ने दुर्गम क्षेत्रमा समस्या भइरहेको छ। त्यस्ता स्थानमा त्रिशूली, रसुवा लगायत हेलिकोप्टर पुग्न सक्ने नजिकका ठाउँसम्म खाद्य सामग्री पुर्‍याएर त्यहाँबाट प्रभावित बस्तीमा पठाउने प्रयास भइरहेको उप्रेतीले जानकारी दिए।

केही प्रभावितले निजी हेलिकोप्टरमार्फत राहत सामग्री लैजान र वितरण गर्न अनुरोध गरिरहेको पनि उनले बताए। स्थानीय तहसँग निरन्तर समन्वय गरेर आवश्यकताअनुसार राहत व्यवस्थापन भइरहेको उनको भनाइ छ। ‘धेरै ठाउँमा राहत सामग्री पुगिसकेको छ। केही ठाउँमा हेलिकोप्टर अपरेसन निकै कठिन भएकाले त्यस्ता स्थानमा अहिले खोज तथा उद्धारका लागि अत्यावश्यक सामग्रीलाई प्राथमिकता दिनुपर्ने अवस्था छ,’ उप्रेतीले भने।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि छिमेकी मुलुकसँग समेत समन्वय गरी आवश्यक सहयोग लिइरहेको प्राधिकरणले जनाएको छ। कार्यकारी प्रमुख उप्रेतीले राज्यका तर्फबाट खोज, उद्धार तथा राहत व्यवस्थापनमा कुनै कसर बाँकी नराखिएको दाबी गर्दै सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरिएको जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७