उद्धारमा ढिलाई भएको भन्दै बेपत्ताका परिवारले माइतीघरमा गरे प्रदर्शन (तस्बिरसहित)


२०८३ भदौ २२ सोमबार १३:३२ बजे
तस्बिरहरूः नेपाल फोटो सर्भिस

काठमाडौं : त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा बेपत्ता भएकाको उद्धारमा ढिलाइ भएको भन्दै पीडित परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन्। उद्धार कार्यलाई तीव्रता दिन माग गर्दै बेपत्ता व्यक्तिका परिवारले मंगलबार माइतीघरमा धर्नासहित प्रदर्शन गरेका हुन्। उनीहरूले आवश्यक परे मित्रराष्ट्रको सहयोग लिएर भए पनि उच्च क्षमताका उपकरण तत्काल घटनास्थलमा पुर्‍याई उद्धार अघि बढाउन सरकारसँग माग गरेका छन्।

बेपत्ता सुमेश अमात्यका दाइ रमेश अमात्यले घटना भएको १३ दिन बितिसक्दा पनि उद्धारले अपेक्षित गति लिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गर्नुपरेको बताए। उनका अनुसार बाढी आएको समयमा आयोजना स्थलको क्याम्प भवनमा बैठक भइरहेको थियो। सोही भवन पुरिँदा करिब ४२ जना त्यहाँभित्र थुनिएको हुनसक्ने परिवारको आशंका छ।

उद्धारका लागि यसअघि लगिएको सानो एक्जाभेटरले काम गर्न नसकेको र ठूलो एक्जाभेटर घटनास्थलसम्म पुर्‍याउन सक्ने क्षमताको हेलिकप्टर उपलब्ध नहुँदा उद्धार प्रभावित भएको अमात्यले बताए। उनले उच्च क्षमताका हेलिकप्टर तथा आवश्यक उपकरण ल्याउन भारत वा चीनबाट सहयोग लिन सकिने भए पनि सरकारले त्यसका लागि समयमै पहल नगरेको आरोप लगाए।

‘उद्धारका लागि आवश्यक उपकरण र ठूलो हेलिकप्टर ल्याउन सक्ने विकल्प हुँदाहुँदै पनि ढिलाइ भइरहेको छ,’ अमात्यले भने, ‘तत्काल उच्च क्षमताका उपकरण घटनास्थलमा पुर्‍याएर उद्धार सुरु गरियोस्।’ पीडित परिवारले बेपत्ताको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै आवश्यक सबै स्रोतसाधन तत्काल परिचालन गर्न सरकारसँग माग गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७