सुनुवार राष्ट्रसेवक समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सुनुवार राष्ट्रसेवक समाज, काठमाडौंले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।
समाजले बुधबार कोषमा ३८ हजार ४ सय रुपैयाँ सहयोग गरेको हो। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण तीन जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकाले पीडित नागरिकलाई सहयोग पुर्याउन समाजले उक्त रकम प्रदान गरेको जनाएको छ।
प्राकृतिक विपद्को सङ्कटपूर्ण समयमा राज्यको उद्धार, राहत तथा पुनःस्थापनाको अभियानलाई प्रभावकारी बनाउन सबै क्षेत्र र निकायबीच सहकार्य आवश्यक रहेको समाजले जनाएको छ।
सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा सामाजिक दायित्व भएको बताए।
उनले भने, “विपद्को पीडामा रहेका नागरिकलाई राहत र सहयोग उपलब्ध गराउनु मानवीय कर्तव्य हो। सानो सहयोगले पनि विपद्मा परेका परिवारको पीडामा मलम लगाउन सक्छ। त्यसैले राज्यको उक्त अभियानमा सहयोग पुर्याउने उद्देश्यले समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक योगदान गरेको हो।”
अध्यक्ष सुनुवारले विपद्को समयमा सरकारी निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकबीचको सहकार्य अझ बलियो हुनुपर्नेमा जोड दिए। आवश्यकता र परिस्थितिअनुसार आगामी दिनमा पनि सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा समाजले आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
साथै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने सम्पूर्ण सुनुवार राष्ट्रसेवकहरूप्रति अध्यक्ष सुनुवारले धन्यवाद ज्ञापन गरे।
सुनुवार राष्ट्रसेवक समाजले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा योगदान पुर्याउँदै आएको जनाएको छ। समाजले विपद् प्रभावित नागरिकको जीवनरक्षा, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका प्रयासमा सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।
समाजले आगामी दिनमा पनि मानवीय सेवा, सामाजिक उत्तरदायित्व र विपद् व्यवस्थापनका क्षेत्रमा रचनात्मक योगदानलाई निरन्तरता दिने जनाएको छ।
.gif)

.png)

