लागूऔषध नियन्त्रण गर्न गृहले बनायो छुट्टै विभाग, ऋषिराम तिवारी बने महानिर्देशक
काठमाडौं : गृह मन्त्रालयले बढ्दो लागूऔषध कारोबार तथा दुरुपयोग नियन्त्रणका लागि छुट्टै लागूऔषध नियन्त्रण विभाग स्थापना गरेको छ। मन्त्रालयले हालै गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) मार्फत यसअघि शाखाका रूपमा रहेको लागूऔषध नियन्त्रणसम्बन्धी संरचनालाई स्तरोन्नति गर्दै विभागको स्वरूप दिएको हो।
सीमापार हुने लागूऔषधको अवैध ओसारपसार, कारोबार तथा प्रयोग नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले छुट्टै विभाग स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ। यसअघि लागूऔषध नियन्त्रणसम्बन्धी काम गृह मन्त्रालय र नेपाल प्रहरीका विभिन्न निकायमार्फत हुँदै आएको थियो। अब भने नीति निर्माण, अनुसन्धान, समन्वय, रोकथाम, पुनःस्थापना तथा सम्बन्धित निकायसँगको अन्तरक्रिया र सहकार्यलाई एकीकृत रूपमा अघि बढाउने जिम्मेवारी विभागले पाउनेछ।
नयाँ विभागका लागि सरकारले १३ जनाको दरबन्दीसमेत स्वीकृत गरेको छ। स्वीकृत दरबन्दीअनुसार सहसचिवस्तरका महानिर्देशक एक, उपसचिव दुई, शाखा अधिकृत तीन, नायब सुब्बा पाँच र कम्प्युटर अपरेटर दुई जना रहनेछन्। यसैबीच, गृह मन्त्रालयले लागूऔषध नियन्त्रण विभागको महानिर्देशकमा सहसचिव ऋषिराम तिवारीलाई जिम्मेवारी दिएको छ।
गृह मन्त्रालयले हालै गरेको २३ जना सहसचिव तथा उपसचिवको सरुवाअन्तर्गत आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका तिवारीलाई विभागको नेतृत्व दिने निर्णय गरेको हो। तिवारी यसअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत भइसकेका अनुभवी प्रशासक हुन्। छुट्टै विभाग स्थापना भएसँगै लागूऔषध नियन्त्रणसम्बन्धी नीति, अनुसन्धान, रोकथाम र पुनःस्थापनाका कार्यक्रमलाई एउटै संस्थागत संरचनामार्फत अघि बढाउने सरकारको तयारी छ।
.gif)

.png)

