रसुवा, नुवाकोट र धादिङका बाढीपीडितलाई स्वास्थ्य बीमामा सहभुक्तानी र क्यापिङ छुट
काठमाडौं : बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न स्वास्थ्य बीमा बोर्डले विशेष व्यवस्था लागू गरेको छ। बाढीका कारण सरकारले यी तीन जिल्लालाई तीन महिनाका लागि 'विपद् सङ्कटग्रस्त क्षेत्र' घोषणा गरेपछि बोर्डले बीमा सेवा लिँदा तिर्नुपर्ने सहभुक्तानी (Co-payment) र उपचारको सीमा निर्धारण (Capping) हटाउने निर्णय गरेको हो।
बोर्डको भदौ २२ गते बसेको बैठकले गरेको निर्णयअनुसार तोकिएको तीन महिनाको अवधिभर तीन जिल्लाका स्वास्थ्य बीमा सेवा प्रदायक संस्थाबाट उपचार लिँदा बीमितले सहभुक्तानी रकम तिर्नुपर्ने छैन। त्यस्तै, क्यापिङको व्यवस्था पनि लागू हुनेछैन। बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएका वा आफूसँग नभएका बीमितलाई समेत उपचारबाट वञ्चित नहुने व्यवस्था गरिएको छ।
बोर्डका अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाले TMIS-User प्रणालीमार्फत बिरामीको स्वास्थ्य बीमा नम्बर यकिन गरी बीमा सेवा उपलब्ध गराउन सक्नेछन्। स्वास्थ्य बीमा बोर्डका प्रवक्ता डा. पवनकुमार साहले बाढीका कारण प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले विशेष व्यवस्था गरिएको बताए। उनका अनुसार नयाँ व्यवस्थाले बाढी प्रभावित परिवारलाई उपचारका क्रममा पर्ने अतिरिक्त आर्थिक भार घटाउनुका साथै बीमा परिचयपत्रलगायतका प्रक्रियागत समस्याका कारण उपचारमा हुन सक्ने अवरोधसमेत हटाउने अपेक्षा गरिएको छ।
.gif)

.png)

