भिड नियन्त्रणका लागि नेपाल प्रहरीमा एक हजार जनाको छुट्टै गण


२०८३ मङ्सिर ८ मंगलबार १४:४१ बजे
फाइल फोटो

काठमाडौं : भिड नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले एक हजार जनशक्ति रहने छुट्टै ‘द्रुत कारबाही गण’ स्थापना गर्ने तयारी गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमान्डमा रहने उक्त गण विशेष तालिमप्राप्त जनशक्तिसहित परिचालन गर्ने अवधारणा अघि सारिएको हो ।

गण स्थापनाका लागि आवश्यक दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयले अर्थ मन्त्रालयको सहमतिका लागि पठाएको छ । प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहत रहने यो गण स्थानीय प्रहरीले आवश्यक ठानेर सहयोग मागेको अवस्थामा परिचालन हुनेछ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार यसलाई केन्द्रीय रिजर्भ फौजका रूपमा विकास गर्ने योजना छ । प्रहरीमा समग्रमा एक हजार ६७८ दरबन्दी थप्ने प्रस्ताव अघि बढाइएको छ ।

नयाँ कार्यालयका रूपमा भने द्रुत कारबाही गण मात्रै स्थापना गर्न लागिएको हो । बाँकी दरबन्दी हाल सञ्चालनमा रहेका विभिन्न निकायमा थपिने एक उच्च प्रहरी अधिकारीले बताएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो, प्रहरी स्टाफ कलेज, साइबर ब्युरो र विधि विज्ञान प्रयोगशालालगायत निकायमा पनि जनशक्ति थप्ने तयारी छ । सुरुमा प्रहरीले दुई हजार १९४ दरबन्दी थप्न प्रस्ताव गरेको थियो ।

पछि संशोधन गरेर एक हजार ६७८ मा झारिएको हो। थप जनशक्तिका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले अर्थ मन्त्रालयको सहमति महत्वपूर्ण मानिएको छ । स्रोतका अनुसार अर्थ मन्त्रालयसँग प्रारम्भिक छलफलपछि नै प्रस्ताव अघि बढाइएको हो ।

अहिले नियमित शान्तिसुरक्षा कायम गर्ने र भिड नियन्त्रण गर्ने जिम्मेवारीमा एउटै प्रहरी जनशक्ति खटिने गरेको छ । यसले गर्दा भिड व्यवस्थापनमा कमजोरी देखिने गरेको प्रहरी अधिकारीहरूको भनाइ छ । फिल्डमा खटिने टोलीबीच समन्वयको समस्या पनि रहने गरेको छ ।

गत वर्षको जेनजी आन्दोलनका क्रममा पनि यस्तो कमजोरी देखिएको थियो । विशेषगरी २३ भदौमा भिड नियन्त्रणमा प्रभावकारी हुन नसक्दा अत्यधिक बल प्रयोगको अवस्था आएको प्रहरी अधिकारीहरू बताउँछन् ।

विगतका यस्ता घटनाबाट पाठ सिक्दै भिड नियन्त्रणमा मात्रै केन्द्रित विशेष गण स्थापना गर्न लागिएको प्रहरीको भनाइ छ ।

हाल सामान्य प्रदर्शनमा समेत अर्धसैनिक संरचनाको सशस्त्र प्रहरी बल परिचालन गर्नुपर्ने अवस्था छ । अब भने नेपाल प्रहरीको द्रुत कारबाही गणले नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि मात्रै सशस्त्र प्रहरीलाई खटाउने गरी गृह मन्त्रालयले रणनीति बनाइरहेको छ ।

जनशक्ति थपसँगै भिड नियन्त्रणका लागि आवश्यक उपकरण तथा सामग्री खरिद गर्ने विषयमा पनि गृह मन्त्रालय र प्रहरीबीच छलफल भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७