दूधमा नसालु पदार्थ मिसाएर दम्पती लुट्ने गिरोह पक्राउ

सुनचाँदी पसलमा बिक्री, चार जना पक्राउ


२०८३ मङ्सिर ९ बुधबार १७:४८ बजे

काभ्रेपलाञ्चोक : सर्वसाधारणलाई खानेकुरा र दूधमा नसालु पदार्थ मिसाएर बेहोस बनाउने र लुटेको सुन सुनचाँदी पसलमा बिक्री गर्ने गिरोहका चार जना पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक प्रहरीले बनेपा र आसपासका क्षेत्रमा भएका शृंखलाबद्ध लुटपाटका घटनाको अनुसन्धानका क्रममा चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सङ्गीता तामाङ (कार्की), बिर्खबहादुर तामाङ, नवराज घिमिरे बिक र प्रविन सुनुवार रहेका छन् ।

प्रहरीका अनुसार गिरोहले सर्वसाधारणलाई खानेकुरा वा पेय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाउने र बेहोस भएपछि सुनका गरगहना, नगद तथा मोबाइल लुट्ने गरेको थियो । लुटिएका गरगहना विभिन्न सुनचाँदी पसलमा बिना बिल बिक्री गर्ने र स्वरूप परिवर्तन गरेर कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

गत जेठ १० गते बनेपामा एक दम्पतीलाई दूधमा नसालु पदार्थ मिसाएर खुवाई दुई थान सुनका रिङ र एक थान तिलहरी लुटिएको थियो ।

त्यस्तै, भदौमा बनेपा र नमोबुद्धका तीन जनालाई बेहोस बनाएर नगद, सुनका गरगहना र मोबाइल लुटिएको प्रहरीको विवरणमा उल्लेख छ । एक पीडितलाई चार दिनसम्म आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो ।

अनुसन्धानका क्रममा गङ्गा गुरुङ र हिरामाया जिम्बाको साथबाट लुटिएका गरगहना भक्तपुरको मध्यपुर थिमीस्थित जय शिवशक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे बिकलाई बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।

पञ्चमाया तामाङको सुनको रिङ भने प्रविन सुनुवारमार्फत धुलिखेलको गणेश सुनचाँदी पसलमा बिक्री गरिएको पाइएको छ ।

प्रहरीका अनुसार सङ्गीता र बिर्खबहादुर यसअघि काठमाडौंको तिनचुलीमा पनि यस्तै प्रकृतिको चोरी घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । उनीहरूविरुद्ध यसअघि पनि चोरी तथा डाँकासम्बन्धी मुद्दा चलेको थियो ।

पक्राउ परेका चारै जनालाई अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी रविन विष्टले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७