देउवा समूहको महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांकलाई


२०८३ मङ्सिर ९ बुधबार १८:३६ बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि आवश्यक तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ ।

बुधबार चूनदेवीस्थित देउवा समूहको सम्पर्क कार्यालयमा बसेको शीर्ष नेता, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसहितको बैठकले समिति गठनको जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिए ।

महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन, स्वयंसेवक, मञ्च व्यवस्थापनलगायत १५ देखि २० वटासम्म समिति गठन गर्नुपर्ने भएकाले ती सबै समिति बनाउने अधिकार कोइरालालाई दिइएको बस्नेतले बताए ।

कोइरालाले बिहीबारसम्म समितिका संयोजक तोक्ने र त्यसपछि उनीहरूले आ–आफ्नो समितिमा सदस्य चयन गरी महाधिवेशनको तयारी अघि बढाउने बस्नेतको भनाइ छ ।

बैठकपछि बस्नेतले आफूहरू नै आधिकारिक कांग्रेस रहेको दाबी गर्दै आफूहरूमाथि कारबाही गर्ने अधिकार कसैलाई नरहेको बताए ।

कांग्रेस नेता कुन्दनराज काफ्लेले पनि आफू रुख चिह्नबाट निर्वाचित प्रदेशसभा सदस्य भइसकेको उल्लेख गर्दै आफूलाई कांग्रेस होइन भनेर कारबाही गर्ने अधिकार कसैसँग नरहेको जिकिर गरे ।

पार्टीभित्र दुईवटा महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा पार्टी कार्यालय ‘हाइज्याक’ गरेर विशेष महाधिवेशन गर्ने पक्षले नै विवाद समाधानका लागि छलफलको नेतृत्व गर्नुपर्ने काफ्लेको भनाइ थियो ।

देउवा समूहले आगामी मंसिर २१, २२ र २३ गते १५औँ नियमित महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७