बेत्रावतीमा एउटै घरभित्र भेटिए २२ जनाको शव
१६ शव भोलिमात्रै निकालिने
नुवाकोट : उत्तरगणेशधामका रूपमा चिनिने नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला परेको छ । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले आंशिक रूपमा भत्काएर पुरेको घरमा सोमबार खोजी गर्दा २२ जनाको शव भेटिएको हो ।
बाढीबाट बच्न एकै ठाउँमा जम्मा भएका उनीहरू घरभित्रै बाढीको चपेटामा परेको हुनसक्ने अनुमान गरिएको छ । भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले ऐतिहासिक बेत्रावती बजारलाई नै खण्डहरमा परिणत गरेको छ । बाढी आएको छैटौँ दिन सोमबार उक्त घरमा खोजी गर्दा ठूलो संख्यामा शव भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले शवको यकिन संख्या नबताए पनि बेत्रावतीमा बाढीले पुरेको घरबाट धेरै शव भेटिएको पुष्टि गरे । उनका अनुसार सोमबार केही शव निकाल्दानिकाल्दै रात परेकाले बाँकी शव मंगलबार बिहानैदेखि निकालिनेछ ।
विदुर नगरपालिकाका जनप्रतिनिधिले भने उक्त घरमा २२ वटा शव रहेको पुष्टि गरेका छन् । उनीहरूका अनुसार उद्धार टोलीले सोमबार ६ वटा शव निकालेको छ भने बाँकी १६ वटा शव मंगलबार निकालिनेछ ।
सशस्त्र प्रहरीसहितको सुरक्षा टोलीले सोमबार केही शव निकालेको र बाँकी शव मंगलबार संकलन गरिने जनप्रतिनिधिले बताएका छन् । शवहरू पहिचान गर्नसमेत कठिन हुने अवस्थामा फेला परेको बताइएको छ ।
यसअघि बेत्रावतीकै स्थानीय तथा पत्रकार लक्ष्मण डंगोलले उक्त घरमा उद्धार तथा खोजी कार्य गर्न पटक–पटक माग गरेका थिए । तर, उनको आग्रह प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म कसैले नसुनेको स्थानीयको गुनासो छ ।
.gif)

.png)

