‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत् आयोजनाका टनेलमा उद्धार रोकिँदैन : नेपाली सेना


२०८३ भदौ २२ सोमबार १४:४५ बजे
नेपाली सेनाका सहायक रथी सुवासजंग थापा । तस्बिर : नेपाल फोटो सर्भिस

काठमाडौं : नेपाली सेनाले बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनाका टनेलमा जारी खोज तथा उद्धार कार्य ‘ब्रेक थ्रु’ नभएसम्म नरोकिने जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सरकारले उद्धार कार्य रोक्ने निर्णय नगरेसम्म टनेलभित्र खोजी अभियान निरन्तर चल्ने स्पष्ट पारे।

सेनाको प्रारम्भिक आकलनअनुसार बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनामा करिब १२१ जना नागरिक फसेको अनुमान गरिएको छ। सहायक रथी थापाका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा सेनाको उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजीमा जुटेको छ। त्यस्तै, त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेलमा उद्धार उपकरणसहित सेनाको टोलीले निरन्तर खोजी गरिरहेको छ।

त्रिशूली–३ ‘बी’ मा अडिट–२ बाट सेनाको टोली टनेलभित्र प्रवेश गरी अडिट–१ बाट बाहिरिएको उनले जानकारी दिए। अडिट–२ को टनेलबाट एक्साभेटरसहितका ठूला उपकरण लैजान सकिने गरी बाटो बनाउने कामसमेत भइरहेको छ। चिलिमे हाइड्रोपावरमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले उपकरणको प्रयोग गरी टनेलमा जमेको लेदो हटाउने काम गरिरहेको छ। 

माथिल्लो त्रिशूली–१ आयोजनामा पनि विदेशी प्राविधिकसहितको टोलीले थप खोजी गरिरहेको सेनाले जनाएको छ। टनेलमा देखिएको क्षतिको प्रारम्भिक अध्ययनका आधारमा बाढी तथा लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको हुनसक्ने अनुमान गरिएको सहायक रथी थापाले बताए। उनका अनुसार टनेलभित्रको अवस्था जटिल रहे पनि उद्धार टोलीले उपलब्ध उपकरण र जनशक्तिको प्रयोग गर्दै खोजीलाई निरन्तरता दिइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७