ड्रोनबाट खोज्दा रसुवा भोटेकोशीको टनेलमा शव भेटियो
काठमाडौं : रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गास्थित १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको टनेलमा एक जनाको शव फेला परेको छ। ड्रोनको प्रयोग गरी गरिएको खोजीका क्रममा टनेलभित्र शव फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। चिनियाँ कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको टनेलमा बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार भइरहेको छ।
यसैबीच, टिमुरेस्थित रसुवागढी जलविद्युत् आयोजनाको टनेलमा पनि उद्धार टोलीले खोजीलाई निरन्तरता दिएको छ। आयोजना प्रतिनिधि र नेपाली सेनाका उद्धारकर्मी पावर हाउसको कन्ट्रोल रुमसम्म पुगेर खोजी गरिरहेका छन्। लाङटाङ जलविद्युत् आयोजनामा समेत सेनाको उद्धार टोली परिचालन गरिएको छ। चिलिमे जलविद्युत् आयोजनाको टनेलमा भने स्वदेशी तथा विदेशी उद्धारकर्मीले ठूला पाइप प्रयोग गरी आवतजावत गर्न सकिने बाटो निर्माण गरेका छन्।
स्याफ्रुबेँशीदेखि चिलिमे टनेलसम्म हेभी उपकरण पुर्याउन सडकमा रहेको ठूलो ढुंगा विस्फोट गराएर हटाइएको छ। त्यसपछि टनेलभित्रको डेब्रिज हटाउँदै उद्धार टोली करिब ११५ मिटर भित्र प्रवेश गरेको सेनाले जनाएको छ। अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा संयुक्त उद्धार टोली ४ सय मिटरभित्र प्रवेश गरेर खोजी गरिरहेको छ।
त्यस्तै, त्रिशूली–३ ए जलविद्युत् आयोजनाको पावर हाउस तथा टनेलमा खोज तथा उद्धारका लागि ३४ सैनिक, चार सशस्त्र प्रहरी र आयोजना प्रतिनिधि परिचालन भएका छन्। त्रिशूली–३ बी आयोजनामा भने १०१ जना सैनिक उद्धारकर्मी र आयोजना प्रतिनिधिसहितको टोलीले खोजी जारी राखेको छ। आयोजनाको कार्यालय तथा आवास गृह रहेको क्षेत्र पत्ता लगाउन २३ फिट गहिराइसम्म उत्खनन गरिए पनि अहिलेसम्म ती संरचना फेला नपरेको सेनाले जनाएको छ।
.gif)

.png)

