हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको विवरण गलत : गृहमन्त्री गुरुङ
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले विपद्का बेला हेलिकप्टरमार्फत उद्धार गर्दा १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने विवरण गलत रहेको स्पष्ट पारेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बुधबार आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हेलिकप्टर उद्धारमा भएको वास्तविक खर्च १४ देखि २० करोड रुपैयाँको हाराहारीमा मात्र रहेको बताए।
सार्वजनिक रूपमा आएको १५ अर्ब रुपैयाँ खर्चको विवरणले विपद् व्यवस्थापनबारे भ्रम सिर्जना गरेको भन्दै उनले उक्त रकम वास्तविक खर्चसँग मेल नखाने बताए।
रसुवाको बाढीपछि अस्थायी शिविरमा रहेका प्रभावित परिवारलाई तत्काल बसोबासको व्यवस्था गर्न छ महिनासम्म प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री गुरुङले बताए। ठूलो परिवारका लागि थप २ हजार रुपैयाँ उपलब्ध गराइनेछ।
विगतमा अस्थायी आवासका लागि ५० हजार रुपैयाँ वा ३ लाख रुपैयाँमा जग्गा खरिद गर्नुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै त्यसलाई परिमार्जन गरिएको उनले बताए।
अब प्रभावित परिवारका लागि छ महिनाभित्र दुई कोठे अस्थायी आवास निर्माण गर्ने र दीर्घकालीन रूपमा व्यवस्थित ‘टाउनसिप प्लानिङ’मार्फत पुनर्वास गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए।
नुवाकोटलगायतका स्थानमा सुत्केरी, गर्भवती महिला तथा बालबालिकालाई एउटै होल्डिङ सेन्टरमा राख्दा उत्पन्न भएको असहज अवस्थालाई सरकारले गम्भीर रूपमा लिएको पनि उनले बताए।
यस्ता समस्या आगामी दिनमा दोहोरिन नदिन आवश्यक सुधार गर्दै प्रभावित परिवारलाई तत्काल भाडामा बस्न रकम उपलब्ध गराउने व्यवस्था गरिएको उनको भनाइ छ।
भारी वर्षाको पूर्वसूचनाका कारण ठूलो क्षति रोक्न सफल भए पनि मानवीय क्षति हुनु दुःखद भएको गृहमन्त्री गुरुङले बताए। विपद्को पूर्वतयारीमा देखिएका सबल र कमजोर पक्षको समीक्षा गर्न कार्यसमितिमार्फत छुट्टै समिति गठन गर्ने निर्णय भएको उनले जानकारी दिए।
.gif)

.png)


