भूतपूर्व गोर्खामाथि संगठित ठगी, कारबाही माग्दै गृहमन्त्रीको ध्यानाकर्षण
‘रेमिट्यान्सका लागि रकम लिन्छन्, पछि उल्टै ठगीको उजुरी हाल्छन्’
काठमाडौं : बेलायत र हङकङमा रहेका पूर्वगोर्खा सैनिक तथा नेपालीलाई लक्षित गरी रेमिट्यान्स कारोबारको आवरणमा ‘दोहोरो ठगी’ भइरहेको आरोपसहित गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराइएको छ। घटनामा संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
आकर्षक विनिमय दरको प्रलोभन देखाएर विदेशमै रकम लिने र त्यसपछि नेपालमा वैदेशिक रोजगार ठगीको आरोप लगाउँदै रकम पठाउने व्यक्तिविरुद्ध नै उजुरी दर्ता गराउने गरिएको प्रतिनिधिमण्डलको दाबी छ।
सांसदहरू राजेन्द्र राई, ध्रुवराज राई र पूर्णप्रसाद लिम्बूसहितको प्रतिनिधिमण्डलले गृहमन्त्री गुरुङलाई भेटेर घटनाबारे जानकारी गराउँदै छानबिन र कारबाहीको माग गरेको हो।
प्रतिनिधिमण्डलका अनुसार विदेशमा रहेका नेपालीलाई आकर्षक रेमिट्यान्स दर उपलब्ध गराउने भन्दै बेलायत तथा हङकङमै रकम लिने र त्यसपछि नेपालमा रहेका स्थानीय एजेन्टमार्फत सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गरिदिने गरिएको छ।
तर, रकम बैंक खातामा जम्मा भएपछि त्यही कारोबारलाई आधार बनाएर रकम पठाउने व्यक्तिविरुद्ध नै वैदेशिक रोजगार विभाग र प्रहरीमा ‘वैदेशिक रोजगारीका नाममा ठगी गरेको’ भन्दै उजुरी दर्ता गराउने गरिएको प्रतिनिधिमण्डलको दाबी छ।
यसरी विदेशमा रहेका आफन्तलाई पैसा पठाउन गरिएको सामान्य कारोबारलाई वैदेशिक रोजगारसँग जोडेर मुद्दा बनाउने गरिएको पीडित पक्षको आरोप छ। प्रतिनिधिमण्डलले यस्ता घटनामा एउटै प्रकृतिको उजुरी दोहोरिन थालेको भन्दै यसको पछाडि संगठित समूहको संलग्नता हुनसक्ने आशंका गरेको छ।
प्रतिनिधिमण्डलले घटनामा संलग्न भनिएका व्यक्तिहरूको भूमिका, विदेशमा रकम संकलन गर्ने प्रक्रिया, नेपालमा रकम जम्मा गर्ने एजेन्ट तथा त्यसपछि दर्ता हुने उजुरीबीचको सम्बन्धबारे अनुसन्धान गर्न माग गरेको छ।
पूर्वगोर्खा सैनिक तथा अन्य नेपालीलाई विदेशबाट परिवारका सदस्यका लागि रकम पठाउँदा उल्टै वैदेशिक रोजगार ठगीको मुद्दामा फसाउने अवस्था देखिएको भन्दै प्रतिनिधिमण्डलले यसबारे गम्भीर अनुसन्धान आवश्यक रहेको जनाएको छ।
५ लाख ११ हजार पठाएका भगत आफैं अभियुक्त बने
खोटाङ स्थायी घर भई बेलायतमा बस्दै आएका भूतपूर्व गोर्खा सैनिक भगतकुमार राईको घटना यही प्रकृतिको भएको उनका आफन्तको दाबी छ।
बेलायतमा बस्ने अजय गौतमले रेमिट्यान्सका लागि आकर्षक विनिमय दर र नेपालमा सहज रूपमा रकम जम्मा गरिदिने भन्दै राईसँग सम्पर्क गरेको बताइएको छ।
राईले घरायसी प्रयोजनका लागि नेपाल पठाउन १८ असोज २०८१ मा ५ लाख ११ हजार ५ सय रुपैयाँ बराबरको बेलायती पाउन्ड गौतमलाई दिएको विवरण पीडित पक्षले दिएको छ।
गौतमले रकम बुझेपछि नेपालमा रहेका उनका प्रतिनिधि भनिएका राजु शर्मा भण्डारीमार्फत भगत कुमार राई र सबित्री राईको गोर्खाज फाइनान्स लिमिटेडको खातामा सोही बराबरको रकम जम्मा गरिएको बताइएको छ।
तर, त्यसपछि उक्त रकमलाई वैदेशिक रोजगारीका लागि लिएको भन्दै राईविरुद्ध उजुरी परेको पीडित पक्षको भनाइ छ।
उजुरीकर्ता समिक्षा गौचनले उक्त रकम बेलायत जाने प्रयोजनका लागि आफूले राजु शर्मा भण्डारीलाई दिएको दाबी गरेको र त्यसैका आधारमा भगत कुमार राई तथा सबित्री राईविरुद्ध उजुरी दर्ता भएको बताइएको छ।
पैसा पठाउने व्यक्ति नै कसरी ठगीमा परे?
राईले सन् २०२४ अर्थात् २०८१ मा गौतमलाई रकम दिएको भए पनि आफूविरुद्ध नेपालमा उजुरी परेको जानकारी २०८३ सालमा मात्र पाएको बताएका छन्।
उजुरीबारे जानकारी पाएपछि उनी नेपाल आउनसमेत नसकेको उनका आफन्तको भनाइ छ। आफूले विदेशमा रकम दिएको र नेपालमा त्यसको बराबर रकम बैंक खातामा प्राप्त गरेको अवस्थामा उल्टै आफूविरुद्ध वैदेशिक रोजगार ठगीको उजुरी परेको भन्दै राईका आफन्तले गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
उनीहरूले अजय गौतम, नेपालमा रकम जम्मा गर्ने भनिएका राजु शर्मा भण्डारी, उजुरीकर्ता समिक्षा गौचन तथा सम्बन्धित सरकारी कर्मचारीको भूमिकामाथि छानबिनको माग गरेका छन्।
‘यस्तै गरी एक दर्जनभन्दा बढी खातामा रकम जम्मा गरिएको’
अजय गौतमले आफूले राजु शर्मा भण्डारीमार्फत भगत कुमार राई, सबित्री राई, सलिता गुरुङलगायत एक दर्जनभन्दा बढी व्यक्तिको खातामा रकम जम्मा गरिदिएको दाबी गर्ने गरेको पीडित पक्षको भनाइ छ।
यही कारोबारलाई आधार बनाएर रकम प्राप्त गर्ने व्यक्तिहरूविरुद्ध वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी परेको उनीहरूको दाबी छ। पीडित पक्षले एउटै प्रकृतिका घटनामा एउटै समूह वा व्यक्तिहरूको भूमिका दोहोरिएको हुनसक्ने भन्दै विस्तृत अनुसन्धानको माग गरेको छ।
८६ वर्षीया आमाले पठाएको पैसा पनि बन्यो कानुनी समस्या
यस्तै प्रकृतिको अर्को घटना ८६ वर्षीया खगी गुरुङसँग जोडिएको पीडित परिवारले जनाएको छ। दुई दशकदेखि बेलायतमा बस्दै आएकी गुरुङले नेपालमा रहेका छोराहरूलाई सहयोग गर्ने उद्देश्यले करिब ५ लाख रुपैयाँ पठाउने निर्णय गरेको परिवारको भनाइ छ।
बैंकिङ माध्यमको सट्टा बेलायतमा रहेका योगेन्द्रबहादुर साउदमार्फत रकम पठाइएको र साउदले नेपालमा रहेका आफ्ना सम्पर्क व्यक्ति बिनोद बुढाथोकीमार्फत खगीका छोरा चेतबहादुर गुरुङको खातामा रकम जम्मा गरिदिएको परिवारले जनाएको छ।
तर, केही समयपछि त्यही रकमलाई आधार बनाएर चेतबहादुरविरुद्ध वैदेशिक रोजगार ठगीको आरोपमा उजुरी परेको परिवारको दाबी छ। उजुरीमा आफूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएको तर काम नगरेको आरोप लगाइएको बताइएको छ। एक वृद्ध आमाले छोरालाई पठाएको रकम कसरी छोराकै लागि कानुनी समस्या बन्यो भन्ने प्रश्न उठाउँदै परिवारले घटनाको निष्पक्ष छानबिन माग गरेको छ।
‘उजुरी परेपछि तत्काल कारबाही हुने गरेको छ’
पीडित पक्षले वैदेशिक रोजगार विभाग र प्रहरीमा उजुरी परेपछि अनुसन्धानको नाममा भूतपूर्व गोर्खाहरूलाई तत्काल कानुनी प्रक्रियामा तान्ने गरिएको आरोप लगाएको छ।
उनीहरूका अनुसार कतिपय अवस्थामा बेलायतबाट नेपाल फर्किएका भूतपूर्व गोर्खाहरू विमानस्थलबाटै पक्राउ परेको र पछि रकम बुझाएर छुट्न बाध्य भएको दाबी गरिएको छ। यस्ता घटनामध्ये केहीमा लाखौँ रुपैयाँ बुझाएर कानुनी झमेलाबाट बाहिरिनुपरेको पीडित पक्षको भनाइ छ।
मेजरदेखि सामान्य गोर्खासम्म
पीडित पक्षका अनुसार यो समस्या भगतकुमार राई वा खगी गुरुङको परिवारमा मात्र सीमित छैन। भूतपूर्व गोर्खा मेजर योगेश राईसमेत यस्तै प्रकृतिको घटनामा पक्राउ परेको र पछि २१ लाख रुपैयाँ बुझाएर छुटेको दाबी गरिएको छ।
गोर्खा समुदायमा प्रतिष्ठित व्यक्तिसमेत यसरी कानुनी झमेलामा परेको भन्दै उनका आफन्तले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।
भूतपूर्व गोर्खा आइतसिंह राईसमेत यस्तै समस्याबाट प्रभावित भएको पीडित पक्षको भनाइ छ। यी घटनाहरू एउटै गिरोह वा एउटै आपराधिक सञ्जालसँग सम्बन्धित हुन् वा फरक–फरक घटना हुन् भन्ने विषय भने अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।
सांसदसम्म पुग्यो पीडितको गुनासो
भूतपूर्व गोर्खा परिवारसँग पारिवारिक सम्बन्धसमेत रहेका प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसमक्ष यस्ता घटनाबारे गुनासो पुगेको छ। सांसद राईका अनुसार आफ्नो सम्पर्कमा पनि यस्ता घटनाबाट पीडित भएका धेरै व्यक्ति आएका छन्। उनले घटनाबारे गृहमन्त्री र प्रधानमन्त्रीलाई जानकारी गराउने तथा आवश्यक अनुसन्धानका लागि पहल गर्ने बताएका छन्।
राईले सरकारी संयन्त्रको दुरुपयोग गरी भूतपूर्व गोर्खा सैनिकलाई आर्थिक तथा मानसिक रूपमा दुःख दिने काम भएको हुनसक्ने भन्दै घटनाको छानबिन आवश्यक रहेको बताएका छन्।
‘रेमिट्यान्सको नाममा रकम लिन्छन्, पछि ठगीको उजुरी हाल्छन्’
सांसद ध्रुवराज राईले पनि बेलायत तथा हङकङमा रहेका पूर्वगोर्खा सैनिक र नेपालीलाई लक्षित गरी यस्तै प्रकृतिको गुनासो आफूले पाएको बताएका छन्।
उनका अनुसार सुरुमा आकर्षक रेमिट्यान्स दरको प्रलोभन देखाएर विदेशमै रकम लिने र नेपालमा रहेका एजेन्टमार्फत सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा गर्ने गरिएको गुनासो आएको छ।
त्यसपछि त्यही बैंक कारोबारलाई आधार बनाएर रकम पाउने व्यक्तिविरुद्ध वैदेशिक रोजगार ठगीको उजुरी हाल्ने गरिएको आरोप उनले सुनाएका छन्।
‘यस्ता घटनामा केही अवकाशप्राप्त गोर्खा मेजरसमेत लामो समय थुनिएर लाखौँ रुपैयाँ तिरेर निस्कनुपरेको गुनासो आएको छ,’ राईले भनेका छन्।
सरकारी संयन्त्रमाथि पनि प्रश्न
पीडित पक्षले घटनामा वैदेशिक रोजगार विभाग तथा प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाएको छ। उनीहरूले उजुरी दर्ता गर्ने, पक्राउ गर्ने र त्यसपछि रकम असुल्ने प्रक्रियामा कुनै मिलेमतो वा प्रभावको भूमिका भए–नभएको छानबिन गर्न माग गरेका छन्।
भगतकुमार राईका आफन्त राजकुमार राईले अजय गौतम, राजु शर्मा भण्डारी, समिक्षा गौचन तथा सम्बन्धित सरकारी कर्मचारीमाथि छानबिनको माग गर्दै विभिन्न निकायमा उजुरी दिएको बताएका छन्।
हेलो सरकारमा परेको उजुरी सम्बन्धित मन्त्रालय तथा विभागमा पठाइएको जानकारी आएको र अख्तियारमा समेत उजुरी दिइएको उनले बताएका छन्। पीडित पक्षले गृहमन्त्री सुधन गुरुङलाई सामूहिक रूपमा भेटेर घटनाबारे जानकारी गराउने तयारीसमेत गरिरहेको जनाएको छ।
.gif)

.png)


