धाप ड्याम फुट्ने हल्ला, विभाग भन्छ, ‘जोखिम छैन’

धाप बाँध सुरक्षित रहेको आयोजनाको स्पष्टीकरण, ३५ प्रतिशत पानी निकासा


२०८३ असोज १० शनिबार २२:५१ बजे

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप बाँध सुरक्षित रहेको जनाएको छ।

मन्त्रालयअन्तर्गत सिँचाइ विभागको नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाको सुख्खायाममा पानीको आवश्यकता पूरा गर्ने उद्देश्यले निर्माण गरिएको धाप बाँध र यसको मुख्य संरचना हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको जनाएको हो।

भारी वर्षापछि धाप बाँधको अवस्थाबारे विभिन्न प्रश्न र चर्चा हुन थालेपछि आयोजनाले बाँधको वर्तमान अवस्था सार्वजनिक गर्दै सर्वसाधारणलाई अनावश्यक त्रसित नहुन आग्रह गरेको छ। आयोजनाले केही दिनअघि बाँध क्षेत्रमा देखिएको जोखिमसमेत अहिले पूर्ण रूपमा हटिसकेको जनाएको छ। यसबारेको वस्तुस्थिति देखाउने भिडियोसमेत आयोजनाले सार्वजनिक गरेको छ।

आयोजनाका अनुसार निरन्तरको मनसुनजन्य वर्षाका कारण धाप बाँधको जलाशय तथा आसपासका क्षेत्रमा पानीको बहाव बढेपछि प्राविधिक टोलीले बाँधको संरचना, जलसतह र पानीको आवागमनलाई नियमित रूपमा निगरानी गरिरहेको छ।

बाँधको सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको र जलाशयमा पानीको मात्रा व्यवस्थापन गर्न आवश्यक प्राविधिक उपायसमेत अपनाइएको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार गत भदौ २४ गते साँझ स्याडल ड्याम–१ नजिकै सडक किनारामा पहिरो गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्काल सुरक्षात्मक कदम चालिएको थियो। सोही दिन साँझदेखि आउटफ्लोमार्फत करिब ४०० लिटर प्रतिसेकेन्ड पानी निरन्तर बाहिर पठाउन थालिएको आयोजनाले जनाएको छ।

पानी निकासा गरिएपछि जलाशयको जलसतह २.३८ मिटरले घटेको छ। हाल जलाशयको पानीको सतह २०८४.८० मिटर मा रहेको आयोजनाको भनाइ छ। यस क्रममा जलाशयमा सञ्चित कुल पानीको करिब ३५ प्रतिशत पानी सुरक्षित रूपमा निकासा भइसकेको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार धाप बाँधको सामान्य जलसतह २०८७.१४ मिटर हो। आगामी दिनमा भारी वर्षा भएर जलसतह सामान्य बिन्दुभन्दा माथि पुगे पनि अतिरिक्त पानी सुरक्षित रूपमा बाहिर निकाल्न सकिने प्राविधिक व्यवस्था गरिएको आयोजनाले जनाएको छ।

जलसतह निर्धारित सीमाभन्दा माथि पुगेमा अतिरिक्त पानी स्पिलवेबाट स्वतः बाहिर जाने व्यवस्था रहेको आयोजनाको भनाइ छ। यसले अत्यधिक पानी जम्मा भएको अवस्थामा पनि जलाशय व्यवस्थापनमा सहयोग पुग्ने आयोजनाले जनाएको छ।

हाल पछिल्लो समय वर्षाको मात्रा क्रमशः घट्दै गएकाले धाप बाँधमा भित्रिने पानीको मात्रा पनि कम हुँदै जाने अनुमान आयोजनाले गरेको छ।जलाशयको पानीको सतह, बाँधको संरचना र पानीको आवागमनलाई प्राविधिक टोलीले निरन्तर निगरानी गरिरहेको भन्दै आयोजनाले आवश्यकताअनुसार पानी निकासको व्यवस्थासमेत मिलाइरहेको जनाएको छ।

आयोजनाले पहिरो प्रभावित क्षेत्रमा पानी निकास, तटबन्ध तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी कामलाई समेत तीव्रता दिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी र पूर्वतयारी अपनाइएको तथा बाँधको सुरक्षा अवस्थाबारे प्राविधिक मूल्याङ्कन निरन्तर भइरहेको आयोजनाले जनाएको छ।आयोजनाका अनुसार हाल बाँधको मुख्य संरचनामा कुनै अप्रिय जोखिम देखिएको छैन।

‘हल्लाको पछि नलाग्नू’

धाप बाँध फुट्न सक्ने वा बाँध असुरक्षित रहेको भन्ने किसिमका चर्चा तथा हल्लाप्रति आयोजनाले ध्यानाकर्षण गराउँदै आधिकारिक सूचनामा मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

आयोजनाले बाँधको सुरक्षा र जलाशयको सुरक्षित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर आवश्यक सावधानी, पूर्वतयारी र निगरानीका काम निरन्तर भइरहेको जनाएको छ।

आयोजनाको भनाइमा धाप बाँध र यसको मुख्य संरचना हाल सुरक्षित अवस्थामा छन् र जलाशयको पानी प्राविधिक रूपमा व्यवस्थापन भइरहेको छ। त्यसैले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिएका अपुष्ट सूचनाका आधारमा अनावश्यक त्रासमा नपर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७