नारायणीको पानी सतर्कता तहभन्दा माथि
थप वर्षा भए बाढीको जोखिम
चितवन : निरन्तरको वर्षापछि नारायणी नदीले सतर्कता तह पार गरेको छ। बिहीबारदेखि परेको वर्षाका कारण नदीमा पानीको बहाव बढेर शनिबार सतह ८ दशमलव ३० मिटर पुगेको नारायणी बेसिन कार्यालय, चितवनले जनाएको छ।
कार्यालयका प्रमुख सुमित अधिकारीका अनुसार नारायणी नदीमा ७ दशमलव ३० मिटरलाई सतर्कता तह मानिन्छ। नदीको बहाव निरन्तर बढिरहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
नदीको पानीको सतह ९ मिटर पुगेपछि खतरा तह मानिने भएकाले थप वर्षा भए जोखिम बढ्न सक्ने अधिकारीले बताए। सतर्कता तह पार गरिसके पनि अहिलेसम्म नदी किनारका बस्तीमा पानी पसिनसकेको उनले जानकारी दिए। ‘अब फेरि वर्षा भए ठूलो बाढीको सम्भावना छ,’ अधिकारीले भने।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताए। तत्काल उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको तथा सूचना प्रवाह र पूर्वतयारीका काम भइरहेको उनले जानकारी दिए।
.gif)

.png)


