बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते
बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार ठोक्किएका थिए।
दुर्घटनामा काठमाडौँमा बस्दै आएका कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाही गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल पुर्याइएकामा बिहान १०:०८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
शाही सवार कारमा रहेका ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ।
उक्त कारका चालक डोटीको साविक मुदेगाउँ गाविस–७ का ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन्। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।
त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दोस्रो कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन। उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग बिहान १०:१५ बजे पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
.gif)

.png)



