कता-कता
कता–कता सृष्टिको सीमारेखा नै मेटेर अजम्बरी हुन्छु जस्तो
कता-कता खुसी नै छु जस्तो,
कता-कता आफ्नै सास पनि भारी भए झैँ जस्तो,
पनि गर्छ फेरि ।
कता-कता चट्टानभन्दा कठोर हु जस्तो,
कता-कता शीतको थोपा भन्दा कोमल भए झैँ जस्तो,
पनि गर्छ फेरि ।
कता-कता यो छातीले आँधीलाई नै थाम्छु जस्तो,
कता-कता बतासको स्पर्शमै पग्लिएर बग्छु कि जस्तो,
पनि गर्छ फेरि ।
कता–कता सारा संसार मुठीमा अटाउँछु जस्तो,
कता–कता यही ब्रह्माण्डले नै छाती थिचे झैँ जस्तो,
पनि गर्छ फेरि ।
कता–कता शिखरहरू मेरै क्षितिजमा उभिउछु जस्तो,
कता–कता मैले टेक्ने धरातल नै भासिए झैँ जस्तो,
पनि गर्छ फेरि ।
कता–कता पुरै आकाश नै आफ्नै बनाउछु जस्तो,
कता–कता आफ्नै छायासमेत अपरिचित झैँ जस्तो,
पनि गर्छ फेरि ।
कता–कता अनन्त यात्राको क्षितिजमा उडान भरे जस्तो,
कता–कता आफ्नै पखेटाको भारले थिचिए झैँ जस्तो,
पनि गर्छ फेरि ।
कता–कता प्रकाशको नदीमा बगेको छु जस्तो,
कता–कता आफ्नै छायाको अँध्यारोमा डुबे झैँ जस्तो,
पनि गर्छ फेरि ।
कता–कता मौनता भित्र आफ्नै स्वर सुने जस्तो,
कता–कता आफ्नै कोलाहलमा आफैँ हराए झैँ जस्तो,
पनि गर्छ फेरि ।
कता–कता जीवनलाई अँगालेर बाँचेको छु जस्तो,
कता–कता जीवनकै अर्थ खोज्दै भौँतारिए झैँ जस्तो,
पनि गर्छ फेरि ।
कता–कता समयको धारभन्दा पर बगिसकेछु जस्तो,
कता–कता अतीतको एउटै पलमा अड्किए झैँ जस्तो,
पनि गर्छ फेरि ।
कता–कता नियतिलाई आफ्नै हातले लेखेको छु जस्तो,
कता–कता लेखिएकै कथाको एक पात्र मात्र बने झैँ जस्तो,
पनि गर्छ फेरि ।
कता–कता सृष्टिको सीमारेखा नै मेटेर अजम्बरी हुन्छु जस्तो,
कता–कता आफ्नै मृत आत्माको भग्न अवशेष बोकेर बाँचे झैँ जस्तो,
पनि गर्छ फेरि।
कता-कता यो जीवन आफ्नै अन्तरमनमा जन्मिएका विरोधाभासहरुसँग मौन युद्ध लड्दै हरेक पल बाँचिरहेको कथा हो जस्तो पनि गर्छ फेरि ॥
.gif)

.png)


