तीन दिनको मौसम पूर्वानुमानबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए जानकारी
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी लिएका छन्।
आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावबाट नेपालमा पर्न सक्ने सम्भावित असरबारे मंगलबार गृहमन्त्री गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट जानकारी लिएका हुन्।
बबरमहलस्थित महाशाखामा भएको छलफलमा मौसमविद्हरूले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने जानकारी गराएका थिए।
त्यस अवसरमा गृहमन्त्री गुरुङले विगतका विपद्बाट पाठ सिक्दै सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र योजना बनाउन मौसमी अवस्थाबारे जानकारी लिइएको बताए।
उनकाअनुसार आगामी ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गर्न र स्थानीय नागरिकलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ।
ऊर्जामन्त्री श्रेष्ठले पनि विपद् व्यवस्थापनका लागि पूर्वतयारी र पूर्वसूचनामा समन्वयात्मक रूपमा काम भइरहेको बताए।
मौसमी प्रणालीका कारण कृषि, पर्यटन तथा यात्रासहित विभिन्न क्षेत्र प्रभावित हुन सक्ने भएकाले चाडबाडको समयमा यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझेर मात्र निस्कन उनले आग्रह गरे।
उनले असोज १२ गतेसम्म मौसम तथा विपद्सम्बन्धी जारी हुने सूचना र अलर्टलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।
सम्भावित जोखिम क्षेत्रहरूमा उद्धारकर्मी तथा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए।
अघिल्लो विपद्मा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको सन्दर्भमा यसपटक जल तथा मौसम पूर्वानुमान महाशाखाबाट निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणलाई निरन्तर सूचना प्रवाह हुने व्यवस्था मिलाइएको मन्त्री श्रेष्ठले बताए।
.gif)

.png)
