तीन प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले सोमबार देशका केही हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने भएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित देशका बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको छ ।
अन्य पहाडी क्षेत्रमा आंशिक बादल रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
सोमबार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।
कोशी प्रदेशको हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
सोमबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
.gif)

.png)




