काठमाडौंका यी क्षेत्रमा ११ दिनसम्म हुनेछ विद्युत् कटौती (विवरणसहित)
काठमाडौं : भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने तथा आगामी हिउँदमा विद्युत् माग व्यवस्थापनका लागि आवश्यक प्राविधिक काम गर्न काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुने भएको छ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा असोज १५ देखि २६ गतेसम्म चरणबद्ध रूपमा विद्युत् कटौती गरिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।
सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरी भूमिगत लाइन सञ्चालनमा ल्याउने तथा हिउँदको लोड व्यवस्थापनसम्बन्धी काम गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक, १७ गते मुलपानी, १८ गते गर्जुधारा, २० गते पुनः मुलपानी क्षेत्रमा विद्युत् कटौती हुनेछ।
यस्तै, असोज २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेर प्राविधिक काम गरिनेछ।
मौसम प्रतिकूल भएमा निर्धारित समयमा विद्युत् कटौती नगरिने प्राधिकरणले जनाएको छ।
उपत्यकाको विद्युत् वितरण प्रणालीलाई क्रमशः भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाएको हो।
पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माण सुरु गरिएको थियो।
दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर र भक्तपुरका सहरी क्षेत्र तथा चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका क्षेत्रमा यस्तो प्रणाली विस्तार गर्ने योजना छ।
कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ।
भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै वितरण प्रणालीलाई स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।
सडक तथा सहरी क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विद्युत्, टेलिफोन र इन्टरनेटका तार व्यवस्थापन गर्न पनि यसले सहयोग गर्ने बताइएको छ।
हेर्नूहोस् विवरणः
.jpg)
.gif)

.png)


