क्रिकेटर सोएब अख्तर काठमाडौंमा सम्मानित


२०८३ कार्तिक ११ बुधबार २०:३७ बजे

काठमाडौं : पाकिस्तानी क्रिकेटका चर्चित पूर्वतीव्र गतिका बलर सोएब अख्तर काठमाडौंमा सम्मानित भएका छन्। ‘रावलपिण्डी एक्सप्रेस’ उपनामले विश्व क्रिकेटमा ख्याति कमाएका अख्तरलाई हिमालयन स्पोर्ट्सले मंगलबार काठमाडौंको मेरियट होटलमा आयोजना गरेको विशेष भेटघाट तथा स्वागत कार्यक्रममा सम्मान गरेको हो।

कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खान सहभागी भएका थिए। उनले कार्यक्रममा सम्बोधन गर्दै क्रिकेट खेलले विभिन्न देशका नागरिकलाई एकअर्कासँग जोड्ने र आपसी सम्बन्धलाई प्रगाढ बनाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

अख्तरको सम्मानमा आयोजित कार्यक्रममा खेलकुदको विश्वव्यापी लोकप्रियता र यसले मानिसहरूबीच आपसी सद्भाव, समझदारी तथा मित्रता अभिवृद्धि गर्न पुर्‍याउने योगदानलाई उजागर गरिएको थियो। विशेषगरी क्रिकेटलाई नेपाल र पाकिस्तानबीच जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने महत्त्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गरिएको थियो।

सोएब अख्तर पाकिस्तानका चर्चित पूर्वक्रिकेटर हुन्। तीव्र गतिमा बलिङ गर्ने क्षमताका कारण ‘रावलपिण्डी एक्सप्रेस’ उपनामले परिचित उनी विश्व क्रिकेटकै तीव्र गतिका बलरमध्ये एक मानिन्छन्। आक्रामक बलिङ शैली र तीव्र गतिका कारण उनले अन्तर्राष्ट्रिय क्रिकेटमा विशेष पहिचान बनाएका छन्।

सन् २००३ को विश्वकपमा इङ्ल्यान्डविरुद्ध १६१.३ किलोमिटर प्रतिघण्टाको गति मापन भएको बल फ्याँकेर उनले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका थिए। उनले सन् १९९७ मा पाकिस्तानबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा गरी ४४४ विकेट लिएका अख्तरले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७