कांग्रेस पदाधिकारीको वरीयता निर्धारण
गगन पहिलो र विश्वप्रकाश दोस्रो
काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरीयता निर्धारण गरेको छ। जसअनुसार सभापति गगन थापा पहिलो र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो वरीयतामा छन्।
उपसभापतिमा पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी क्रमशः तेस्रोदेखि छैटौँ वरीयतामा छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल पहिलो, डिला संग्रौला पन्त दोस्रो र उदय शमशेर राणा तेस्रो वरीयतामा छन्।
११ जना सहमहामन्त्रीको वरीयता पनि निर्धारण गरिएको छ। जसअनुसार बहादुर सिंह लामा तामाङ, योगेन्द्र चौधरी, प्रकाश रसाइली स्नेही, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, आङ्गेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मनोजमणि आचार्य र मो. फिरदोस आलम क्रमशः वरीयतामा छन्।
सभापति थापाले चार जना सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ।
१५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले आज शपथ लिएका छन्। शपथपछि सभापति थापाले छठपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने जानकारी गराएको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले बताएका छन्।
सभापति थापाले पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्धारित कार्ययोजना तथा कार्यतालिकाअनुसार काम गर्न निर्देशन दिएका छन्। महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिइएको नेताहरूले बताएका छन्।
.gif)

.png)



