सोमपाल कामीको विस्फोटक ब्याटिङमा विराटनगरमाथि कर्णालीको सनसनीपूर्ण जित

सोमपालको अविजित ६२ रन, गुल्सनसँग ६४ रनको साझेदारी


२०८३ कार्तिक १२ बिहीबार २०:५२ बजे

काठमाडौं : कप्तान सोमपाल कामीको विस्फोटक ब्याटिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सलाई स्तब्ध पारेको छ । १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले अन्तिम ओभरको पाँचौं बलमा ६ विकेट गुमाएर जित निकालेको हो ।

कर्णालीको जितमा कप्तान सोमपालले अविजित ६२ रन बनाए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । गुल्सन झा २१ बलमा २८ रन बनाएर अविजित रहे । सातौं विकेटका लागि सोमपाल र गुल्सनले ६४ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

अन्तिम ओभरमा कर्णालीलाई जितका लागि आठ रन चाहिएको थियो । पहिलो बलमा सोमपालले एक रन लिए । गुल्सनले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन जोडे । चौथो र पाँचौं बलमा सोमपालले लगातार दुई-दुई रन लिएपछि कर्णालीले रोमाञ्चक जित सुनिश्चित गर्‍यो । यसबीच विराटनगरका लोकेश बमले गुल्सनको क्याच छाडेका थिए ।

कर्णालीको सुरुवात भने निराशाजनक थियो । मार्क वाट एक, अक्बर अली एक र हुसेन तलत शून्य रनमै आउट भए । दीपक डुम्रेले २० तथा अरिफुल इस्लामले ३२ रन बनाए । सुरुवाती पाँच विकेट सस्तोमा गुमाएपछि दबाबमा परेको कर्णालीलाई सोमपाल र पवन सर्राफले सम्हालेका थिए । छैटौं विकेटका लागि यी दुईले ६६ रनको साझेदारी गरे । पवन २८ बलमा ३६ रन बनाएर आउट भए ।

विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए । चरिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एक-एक विकेट हात पारे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो । उसका ओपनर लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै ५२ बलमा ८७ रन जोडे । उनले तीन चौका र नौ छक्का प्रहार गरे ।

लोकेशले चौथो विकेटका लागि एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए । १६औं ओभरको पाँचौं बलमा सोमपालको बलमा आउट भएका लोकेश एनपीएलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्न १३ रनले चुके । म्याथ्युजले २२ बलमा ३१ रन बनाए ।

विराटनगरका इम्रान शेख पाँच, चरिथ असलंका तीन र शेहान जयसूर्या ११ रनमा आउट भए । आन्द्रे रसेलले १५ बलमा २७ रन बनाए भने बसिर अहमदले १३ रन जोडे । सुजन थपलिया अविजित रहे ।

कर्णालीका कप्तान सोमपालले बलिङमा पनि प्रभावशाली प्रदर्शन गरे । उनले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए । सोमपालले लोकेश, रसेल, म्याथ्युज र असलंकालाई आउट गरे । मार्क वाट र नन्दन यादवले एक-एक विकेट लिए । शुक्रबार एनपीएलमा कुनै खेल हुने छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७