आजदेखि एनपीएलको रौनक, डेढ करोडका लागि आठ टोली भिड्दै 


२०८३ कार्तिक १० सोमबार ०७:४४ बजे

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। 

आठ टोली सहभागी हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

यसपटकको एनपीएल अघिल्ला संस्करणभन्दा केही फरक र विशेष हुनेछ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता, निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) को प्रयोग, विदेशी खेलाडीको संख्या वृद्धि र विश्वचर्चित क्रिकेटरहरूको सहभागिता प्रतियोगिताका प्रमुख आकर्षण हुन्।

प्रतियोगितामा विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ।

एनपीएलको तेस्रो संस्करणले आईसीसीबाट आधिकारिक मान्यता पाएको छ। 

यससँगै प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ्नुका साथै खेलाडीले बनाएका रन र लिएका विकेटले उनीहरूको आधिकारिक टी–२० करिअर रेकर्डमा स्थान पाउनेछन्।

आईसीसीको मान्यतापछि टोलीहरूले बढीमा आठ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ। यसअघि पहिलो र दोस्रो संस्करणमा बढीमा छ जना विदेशी खेलाडी राख्न पाइन्थ्यो। 

नयाँ व्यवस्थाअनुसार आठ विदेशी खेलाडीमध्ये कम्तीमा एक जना एसोसिएट राष्ट्रको हुनुपर्नेछ। यद्यपि, प्लेइङ–११ मा एकैपटक बढीमा चार जना विदेशी खेलाडी मात्रै राख्न पाइनेछ।

प्रतियोगितालाई निष्पक्ष बनाउन खेल मिलेमतो तथा भ्रष्टाचारविरुद्धको निगरानी पनि बलियो बनाइनेछ। आईसीसीको एन्टी करप्सन युनिटले खेलस्थल, ड्रेसिङ रुम र टोलीका गतिविधिमाथि निगरानी राख्नेछ।

यस संस्करणमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग गरिने भएको छ। अम्पायरको निर्णयमा पुनर्विचार गर्न सकिने यो प्रणालीले खेलमा निर्णयसम्बन्धी त्रुटि कम गर्न सहयोग पुर्‍याउनेछ।

डीआरएसमा टेलिभिजन रिप्ले, बल ट्र्याकिङ, बल ब्याट वा प्याडमा लाग्दा उत्पन्न हुने आवाज पहिचान गर्ने प्रविधि र इन्फ्रारेड इमेजिङजस्ता सुविधा प्रयोग गरिन्छ।

यो प्रणालीका कारण खेलको अवधि करिब ३० मिनेट बढ्न सक्ने भएकाले क्यानले खेल तालिकामा थप ३० मिनेटको समय व्यवस्थापन गरेको छ।

विश्वचर्चित खेलाडीहरूको सहभागिताले एनपीएललाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। 

यसपटक अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, इङ्ल्यान्डका मोइन अली, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता खेलाडी प्रतियोगितामा देखिनेछन्।

त्यस्तै, विभिन्न टोलीको प्रशिक्षकका रूपमा धम्मिका प्रसाद, सोहेल तनवीर, शिवनारायण चन्द्रपल, मोन्टी देसाई, टिनु योहाना, अजन्था मेन्डिस र मिस्बाह उल हकजस्ता चर्चित क्रिकेट व्यक्तित्व जोडिएका छन्।

पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तर हिमालय स्पोर्ट्सको आधिकारिक प्रसारणमा विश्लेषकका रूपमा देखिनेछन्।

दर्शकको सुविधाका लागि कीर्तिपुरस्थित मैदानमा करिब दुई हजार सिट थप गरिएको छ। छानासहितको प्यारापिट निर्माण र नयाँ सिट जडानलगायत काम पनि गरिएको छ।

प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोहसँगै एउटा खेल हुनेछ। साँझ ५ बजे सुरु हुने खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

लिग चरणमा कुल २८ खेल हुनेछन्। लिग चरणका खेल कात्तिक २९ गतेसम्म चल्नेछन्। 

त्यसपछि मंसिर १ गते पहिलो क्वालिफायर, मंसिर २ गते एलिमिनेटर र मंसिर ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ।

प्रतियोगिताको फाइनल मंसिर ५ गते साँझ ५ बजे खेलाइनेछ। एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७