लगातार तेस्रो वर्ष ग्लोबल आइएमई बैंकलाई ‘बेस्ट बैंक नेपाल’ अवार्ड


२०८३ कार्तिक १० सोमबार १८:१९ बजे

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’बाट प्रदान गरिने ‘बेस्ट बैंक नेपाल’ अवार्ड २०२६ प्राप्त गरेको छ। 

योसँगै बैंकले लगातार तेस्रो वर्ष उक्त सम्मान हासिल गरेको हो। बैंकले सन् २०२४ र २०२५ मा पनि यही विधामा अवार्ड प्राप्त गरेको थियो। 

थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच, व्यावसायिक साझेदारी, ग्राहककेन्द्रित नवीनता, आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाएको जनाएको छ।

अवार्ड समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न देशका प्रमुख वित्तीय संस्थाहरू पनि सम्मानित भएका थिए। 

बैंक अफ चाइना, स्टेट बैंक अफ इन्डिया, आइसीबीसी, यूओबी मलेसिया, सिटी बैंक बङ्गलादेश र एमयूएफजी बैंक जापानलगायत संस्थाले विभिन्न विधामा पुरस्कार प्राप्त गरेका थिए।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको जनाएको छ। 

बैंकले यस सम्मानले थप उत्कृष्ट सेवा प्रदान गर्न प्रेरणा मिलेको बताउँदै आफ्नो प्रगतिमा सहयोग गर्ने नियामक निकाय, सेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार व्यक्त गरेको छ।

बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका सम्मान प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंकका अनुसार, बैंकले देशका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको छ। 

हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय सञ्चालनमा छन्।

यी सञ्जालमार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७