एनपीएलमा लुम्बिनीको सानदार जित, शेर र किशोरको उत्कृष्ट बलिङ

१० ओभर नपुग्दै लक्ष्य पूरा


२०८३ कार्तिक १० सोमबार २१:१० बजे

काठमाडौं : साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

सर्टले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए। आसिफले ३२ रन बनाए। 

निरोशन डिक्वेला ७ रनमा बोल्ड भए भने शमिम हुसेन १ रनमा आउट भए । कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमै समेटिएको थियो। सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाउन लुम्बिनीका किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गरे। 

किशोरले ४ तथा शेरले ३ विकेट लिए। कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले समान १ विकेट हात पारे।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेल १७ रनमा अविजित रहे। 

सैफ जैबले १३ तथा विनोदले ९ रन जोड्दा इशान पाण्डेले ७ रन बनाए। ब्रान्डन म्याकमुलेनले २ र शेर्फन रदरफोर्डले १ रन बनाए। स्कट कुगेलेइन र हेमन्त धामी खाता नखोली आउट भए।

यस खेलसँगै नेपाली क्रिकेटमा पहिलो पटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोगमा आएको छ। खेलको दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्लु (लेग बिफोर विकेट) को अपिल गरेका थिए। 

अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिए पनि लुम्बिनीको अपिल सफल हुन सकेन।

एनपीएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन्। दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७